विकासका उस्तै एजेण्डा लिएर घरदैलोमा उम्मेदवारहरु

जिल्लाको समग्र विकासमा आफुले गर्न सक्ने सबै खालका काम गर्ने प्रतिवद्धता जनाउँदै उम्मेदवारहरु घरदैलोमा गरिरहेका छन् ।

माघ २०, २०८२

विप्लव महर्जन

Candidates go door to door with the same development agenda

What you should know

सल्यान — फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा दलका र स्वतन्त्र उमेदवार मिल्दोजुल्दो विकासका एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

जिल्लाको समग्र विकासमा आफुले गर्न सक्ने सबै खालका काम गर्ने प्रतिवद्धता जनाउँदै उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका हुन् । 

विगतमा भएका विभिन्न निर्वाचनमा भाग लिएका उम्मेदवारले जिल्लाको समग्र विकासका लागि राप्ती राजमार्गसँगै जिल्लाका सहायक मार्ग कालोपत्रे गर्ने, जिल्ला अस्पताल सल्यानलाई ५० शय्यामा विस्तार गर्न पहल गर्ने, शिक्षा, स्वास्थ्य, बिजुली, आधुनिक कृषि, एक घर एक रोजगारी, घरघरमा पानी पुर्याउनेदेखि सुशासन, जवाफदेहितालगायत पारदर्शितामा पहल गर्ने जस्ता एजेन्डा लिएर गाउँगाउँमा रहेका मतदाता कहाँ पुगिरहेका थिए । अहिलेका उम्मेदवारको पनि पुरानै एजेन्डा लिएर घरदैलो गरिरहेका छन् ।

प्रचारप्रसारका लागि जिल्लाका विभिन्न पालिका पुगेका उमेदवारले आफु निर्वाचित भएमा प्रतिवद्धता पूरा गर्ने भन्दै मतदातालाई फकाउँदै आएका छन् ।  

नेकपाका उमेदवार रमेश मल्लले जिल्लाको समग्र विकासका साथै सुशासन, जवाफदेहितालाई पारदर्शिता तथा चुस्तदुरुत्स बनाउने आफ्नो एजेन्डा रहेको बताए । पछिल्लो समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका उनले जिल्लाको समग्र विकासको लागि सक्दो पहल गरिरहेको उनले जानकारी दिए । ‘जिल्लाको दुर्गम गाउँमा अहिले पनि खानेपानी, बिजुली, पुगेको छैन । स्वास्थ्य सेवालगायत अन्य सेवाको समस्या हुँदा सर्वसाधारण समस्यामा परेका छन् । जिल्लामा किसानले उत्पादन गरेका बस्तु बिक्रि गर्न अझै समस्या छ । निर्वाचित भएर जिल्लाको विकाससँगै भुई मान्छेको समस्या समाधानमा सक्रिय भएर लाग्ने छु,’ उनले भने । 

कांग्रेस नेता केशबहादुर बिष्टले जिल्लाको समग्र विकास मात्र नभई सामान्य सेवाबाट बन्चित हुँदै आएका सर्बसाधारणको समस्या समाधान आफ्नो मुख्य एजेन्डा रहेको बताए । प्रचारप्रसारका क्रममा कुमाख गाउँपालिकाको रागेचौर जाँदा स्थानीयले खानेपानीको लागि राखेको माग आफुले पूरा गर्न सक्दो प्रयास गर्ने उनले बाचा गरेका छन् । 

नेकपा माओवादीबाट पहिलो पटक निर्वाचनमा भाग लिएका चन्द्रबहादुर खड्गाले आफ्नो एजेन्डा समग्र जिल्लाको विकास मात्र नभई १० वर्षीय जनयुद्धमा सहिद भएका, घाइते, बेपत्ता परिवारको हकअधिकार सुनिश्चित गर्ने, जनताको पक्षमा कानुन निर्माण गर्ने बताए । जिल्लाको समग्र विकास कागजमा मात्र नभई कार्यान्वयन गरी देखाउने उनले बताए।

एमालेका नेता तथा उमेदवार गुलावजंग शाहले आफनो एजेन्डामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली, रोजगारीलाई प्राथमिकता दिएको बताए । आफु निर्वाचित भएर गएमा प्रतिबद्धत्ता सबै पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए। 

राप्रपा उमेदवार अनिशा नेपालीले जिल्लाको समग्र विकास मात्र नभई संघीयता खारेज, गैरदलीय स्थानीय तह, भ्रष्टाचारीलाई कारबाही जस्ता एजेन्डा लिएर मतदाता समक्ष पुग्दै आएको बताइन् । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully