श्रीमान मृत्युको पीडा दबाएर निर्वाचन प्रहरीमा भर्ना

घरको आर्थिक अवस्था कमजोर भएको र विगतमा बैदेशिक रोजगारी तथा स्वास्थ्योपचारका क्रममा लागेको ऋण तिर्न गाह्रो भएपछि दुःखमै भएका बेला पनि निर्वाचन प्रहरीमा भर्ना हुनु परेको हो ।

माघ १९, २०८२

विप्लव महर्जन

Husband's death forced her to join the election police

What you should know

सल्यान — सल्यानको शारदा नगरपालिका–३ बडाखोला घरभएकी ३६ वर्षीया ईन्द्रा कुमारी बुढाथोकी श्रीमानको मृत्यु भएको एक महिना नबित्दै निर्वाचन प्रहरीमा भर्ना भएकी छिन् ।

घरको आर्थिक अवस्था कमजोर भएको र विगतमा बैदेशिक रोजगारी तथा स्वास्थ्योपचारका क्रममा लागेको ऋण तिर्न गाह्रो भएपछि दुःखमै भएका बेला पनि निर्वाचन प्रहरीमा भर्ना हुनु परेको हो । 

बुढाथोकीका श्रीमान् पूर्णबहादुर बुढाथोकीको ४२ वर्षको उमेरमा घरनजिकै लडेर गत पुस १७ गते मृत्यु भएको थियो । मदिरा सेवन गरेर हिँड्ने श्रीमानले घरखर्चप्रति कुनै चासो नदिँदा उनले मजदुरी गरेर दुई छोरा र ३ वर्षीय नातिलाई जेनतेन पाल्दै आएकी थिइन् । 

आर्थिक अवस्था कमजोर भएकै कारण श्रीमानको मृत्यु भएको १४ दिनमै उनले निर्वाचन प्रहरीको लागि आवेदन दिएकी थिइन् । श्रीमानको मृत्युसँगै घर खर्च चलाउन समस्या भएपछि मृत्युको पीडालाई दबाएर निर्वाचन प्रहरीमा भर्ना भएको ईन्द्राकुमारीले बताइन्। ‘समाजमा सबैले पीडाको बेला पनि किन निर्वाचन प्रहरीमा भाग लिएको होला भनेर कुरा काट्ने गर्थे । तर मेरो पीडामा मलम लगाउने कोही भएनन् । समाजका कुरा सुनेर बस्ने हो भने मेरो घरमा चुलो न जल्थ्यो न ऋण कम हुन्थ्यो । त्यहीँ भएर पीडा दबाएर निर्वाचन प्रहरीमा भर्ना भए,’ उनले भनिन् । 

उनका श्रीमान् प्रहरीमा जागिरे थिए । २०६५ मा उनले जागिर छाडे । उनको पेन्सनको रकम उनलाई नै ठिक्क हुन्थ्यो । ‘म दुई छोरा र एक नाति पाल्न सधैं काम गर्न बाध्य हुन्थे । घरको आर्थिक अवस्था ज्यादै कमजोर र बच्चाबच्चीको लालनपालन गर्न गाह्रो भएको थियो,’ ईन्द्रकुमारीले भनिन्, ‘उपचार र बैदेशिक रोजगारीमा जाँदा लागेको ऋण तिर्न गाह्रो भएपछि मानसिक तनाव बढेको थियो ।’

निर्वाचन प्रहरीमा भर्ना भएपछि घरखर्च चलाउन केही राहत हुने उनले बताइन् । श्रीमानले पहिला घरखर्चमा नसघाउने र घरको आर्थिक अवस्था कमजोर भएपछि ८ वर्षअघि २ लाख खर्च गरी साउदी गएको उनले बताइन् । त्यहाँबाट फर्केर २०७९ मा निर्वाचन प्रहरीमा भर्ना लगत्तै पुन २ लाख ५० हजार खर्च गरी साउदी गएको र विरामी परेर चार महिनामै घर फर्किनु पर्दा २ लाख भन्दा बढी ऋण लागेको ईन्द्राकुमारीले सुनाइन् ।

‘त्यसपछि आफ्नै पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा १ लाख भन्दा बढी ऋण लाग्यो । सबैगरी अहिले मेरो ६ लाख जति ऋण छ,’ उनले भनिन्, ‘घरमा कमाई गर्ने कोही छैनन् । आउने स्रोत कैही छैन । ऋण कसरी तिर्ने हो भन्ने समस्या भएको छ ।’ २०७४ देखि अहिलेसम्मका सबै चुनावमा निर्वाचन प्रहरी भइसकेको उनको भनाई छ ।  

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully