रास्वपा, नेकपा माओवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारलाई पनि तीन ठूला पार्टीकै मत बाँडिने देखिएकाले पुराना दलका उम्मेदवारलाई चुनौती थपिएको हो ।
What you should know
सल्यान — २०४८ देखि २०७९ कांग्रेस, एमाले र माओवादीले निर्वाचन जित्दै आएको सल्यानमा यसपाली नयाँ दलका उम्मेदवारहरुले चुनौती दिएका छन्।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सल्यानमा कांग्रेसबाट केशबहादुर बिष्ट, एमालेबाट गुलाबजंग शाह, नेपाली कम्युनिष्ट पार्टीबाट रमेशकुमार मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितकुमार चन्द, रारिष्ट्रय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली, नेकपा माओवादीबाट चन्द्रबहादुर खडगा, राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, स्वतन्त्रबाट ध्रुवराज ओली , नेसनल रिपब्लिकन नेपालबाट डिल्लीबहादुर घर्तीलगायत १४ जना उम्मेदवार छन्।
रास्वपा, स्वतन्त्र, नेकपा माओवादी र राप्रपा उम्मेदवारलाई पनि तीन ठूला पार्टीकै मत बाँडिने देखिएकाले चुनौती थपिएको हो । ठूला दलका उम्मेदवारलाई नयाँ दलबाट चुनौती थपिएपछि निर्वाचनको परिणाम आफनो पक्षमा ल्याउन अहिले पार्टीका नेता कार्यकता र उम्मेदवारहरु थप सक्रिय भएका छन्।
नेता, कार्यकता तथा उम्मेदवारहरु अहिले निर्वाचन परिचालन समिति गठन गरी विभिन्न किसिमका आश्वासन देखाउँदै घरघर गएर मतदाता रिझाउने काम गर्दै आएका छन्। पुराना दलका नेताहरु रुष्ट भएर अन्य पार्टीमा गएका नेता, कार्यकर्ताालाई फर्काउने कसरत समेत गरिरहेका छन् ।
ठूला दल भनिने कांग्रेस, एमाले र नेकपाका उम्मेदवारले संगठनात्मक हिसाब र २०७९ को समानुपातिक तथा प्रत्यक्ष निर्वाचनमा खसेको मतको आधारमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।
जेन–जी आन्दोलनपछिको देशमा बदलिएको राजनीतिक माहौलले विरासत गुम्ने चिन्ता उनीहरुको छ। उनीहरुले आफ्नो पक्षमा मत बढाउन सामाजिक सञ्जालको प्रयोग बढाउन डिजिटल सूचना डेस्क नै स्थापना गरेका छन् ।
विगतमा निर्वाचित भएका नेताका कारण जनताको मन जित्न केही कठिनाई भएको र नयाँ उम्मेदवारका कारण पनि चुनौती थपिएको नेकपाका उम्मेदवार रमेशकुमार मल्लले बताए । चुनौती थपिएसँगै प्रचारप्रसारका कार्यक्रमलाई तिब्र बनाएको उनले जानकारी दिए।
विगतमा मल्लसित एउटै पार्टीमा रहेका नेता चन्द्रबहादुर खडका नेकपा माओवादीबाट उम्मेदवार छन् । 'विभिन्न किसिमका चुनौती देखिएपनि माओवादी, एकीकृत समाजवादीलगायतका पार्टी एक भएको र कांग्रेस, एमाले पनि एक्लाएक्लै प्रतिस्पर्धा गरेकाले निर्वाचन जित्छौं भन्नेमा ढुक्क छौं,’ उनले भने ।
एमाले सल्यानका जिल्ला अध्यक्ष भीमबहादुर सेनले विगतको निर्वाचन भन्दा अहिले केही माहोल परिर्वतन भएकाले चुनौती थपिएको बताए । चुनौतीलाई सामना गर्न पार्टी सक्रिय भएर लागेको उनले बताए। २०७९ को निर्वाचनमा समानुपातिक तर्फको परिणाम अनुसार एमालेले २२ हजार मत बढी ल्याएको र यसपाली पनि आफ्नो पार्टीका कार्यकर्तामा कुनै समस्या नभएकाले एमालेले नै निर्वाचन जित्ने उनको दाबी छ ।
विभिन्न कारण चुनौती थपिए पनि त्यसबाट कत्ति पनि बिचलित नभएर नेता तथा कार्यकर्ता आफ्नो पार्टीको विरासत जोगाउन एक भएर लागेको कांग्रेस उम्मेदवार केशबहादुर बिष्टले बताए । रास्वपा, स्वतन्त्र र राप्रपाका उम्मेदवारले केही मत काटे पनि खासै असर नपर्ने र २०७९ को भन्दा माहोल अझ राम्रो भएको उनले बताए ।
