जेन–जी आन्दोलनपछि पहिलोपटक बस्दै कर्णाली प्रदेशसभाको बैठक

९ माघमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

माघ १८, २०८२

तृप्ति शाही

Karnali Provincial Assembly meeting convenes for the first time since Gen-G movement

What you should know

वीरेन्द्रनगर — गत भदौ २३–२४ मा भएको जेन्जी-आन्दोलन पछि पहिलोपटक कर्णाली प्रदेशसभा बैठक (आज) आइतबार बस्दैछ । हिउँदे अधिवेशनको बैठक दिउँसो १ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

९ माघमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

यसअघि चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट पारित गरेर २१ साउनमा छैटौँ अधिवेशन अन्त्य भएको थियो । 

यसपटकको प्रदेशसभा अस्थायी संसद् कक्षबाट सुरू हुनेछ । २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा प्रदेशसभामा पूर्ण रूपमा क्षति पुगेको थियो । प्रदेशसभा मर्मतकै क्रममा रहेकोले बैठक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको सभाहलमा अधिवेशन सञ्चालन हुनेछ । 

आन्दोलनमा कर्णाली प्रदेश सरकार मातहतको प्रदेशसभा सचिवालय परिसरका भवनमा समेत आन्दोलनकारीले तोडफोड र आगजनी गरेर करोडौंको क्षति पुर्‍याएका थिए ।

आन्दोलनकारीले संसद भवनभित्र गरेको आगजनी र तोडफोडले फर्निचर, फिक्चर्स, कम्प्युटर, इलेक्ट्रोनिक्स, सवारीसाधन र अन्य भौतिक संरचना तथा सामग्रीमा ठूलो क्षति पुगेको थियो ।

प्रदेशसभा सचिवालयका अनुसार आगजनी र तोडफोडका कारण ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो । आन्दोलनका कारण क्षति पुगेको प्रदेशसभा भवनमा तत्काल संसद बैठक बस्न नसकिने अवस्था रहेकाले वैकल्पिक उपाय अपनाएर अधिवेशन गर्न लागिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

केही समय अघिसम्म प्रदेशसभाकै सूचना प्रविधि कक्षबाट बैठक सञ्चालन गर्ने तयारि गरिएको थियो । तर पछि प्रशिक्षण केन्द्रमा तयारी गरियो ।

प्रदेशसभा परिसरमा निर्माणधीन अस्थायी बैठक कक्ष पूरा नहुन्जेल बैठक यहिँ हुनेछ ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully