साविकको कर्णाली अञ्चलमै पहिलो मावि प्रथम श्रेणीका शिक्षक सिंहराज शाहीको सम्झनामा शनिबार १३ औं दिनको पुण्यतिथिमा अक्षयकोष स्थापना भएको हो।
कालीकोट — कर्णालीका शैक्षिक अगुवा सिंहराज शाहीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।
साविकको कर्णाली अञ्चलमै पहिलो मावि प्रथम श्रेणीका शिक्षक सिंहराज शाहीको सम्झनामा शनिबार १३ औं दिनको पुण्यतिथिमा अक्षयकोष स्थापना भएको हो।
शैक्षिक सामग्री अभावमा विद्यालय जान नसक्ने र भर्ना भएर बीचैमा पढाई छाड्न बाध्य हुने विपन्न समुदायका बालबालिकालाई छात्रबृत्ति उपलब्ध गराउन शाहीको परिवार र विद्यालयको सहकार्यमा १ एक लाख रुपैयाँ राशीको अक्षयकोष स्थापना गरिएको हो। अक्षयकोषमा राखेको रकमबाट प्राप्त हुने ब्याजले गरिब, विपन्न तथा जेहेन्दार बालबालिकालाई छात्रबृत्ति प्रदान गरिने शाहीका जेठा छोरा रमेशकुमारले बताए।
नसा र मुटु रोगले थलिएका कालीकोटको रास्कोट ५ का शाहीको ६६ वर्षको उमेरमा माघ ५ गते निधन भएको थियो। बडिमालिका माविका प्रधानाध्यापक पुष्पराज बरालले अन्य शैक्षिक सरोकारवालासँग समन्वय गरेर कोष बृद्धि गर्दै लैजाने लक्ष्य राखेको बताए।
कालीकोटको महादेव मावि फोइकोट र बडिमालिका मावि स्युना रास्कोटमा गरी ३४ वर्ष शिक्षण गरेका शाहीले २१ वर्ष मावि तहको प्रधानाध्यापक पदमा सेवा गरेका थिए। कालीकोटमा ‘हेडसर’ उपनामले चिनिने सिहंराजको निधनमा रास्कोट नगरपालिकाले एक दिन पालिकाभित्रका सबै शैक्षिक संस्थामा शोक विदा दिएको थियो। उनी कालीकोटको सबैभन्दा पुरानो (२०३२ मा स्थापित) बडिमालिका माविबाट प्रथम श्रेणी (सचिव सरह) को मावि तहको शिक्षकबाट ०६६ मा सेवा निबृत्त भए ।
