चुनाव खर्च जुटाउन किताब बेच्दै उम्मेदवार

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा किताब बेचेको रकमले चुनाव खर्च व्यवस्थापन गर्ने तयारी रहेको धितालले बताए।

माघ १८, २०८२

डीबी बुढा

Candidate selling books to raise election funds

जुम्ला — प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जुम्लामा उम्मेदवार बनेका मनऋषि धिताल चुनाव खर्च जुटाउन किताब बेचिरहेका छन् ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा किताब बेचेको रकमले चुनाव खर्च व्यवस्थापन गर्ने तयारी रहेको धितालले बताए। 

अन्य दलका उम्मेदवारहरु विकास निर्माणका एजेण्डा लिएर मतदाताको दैलो गरिरहेका छन् । यसअघि पत्रकारितामा रहेका धिताल मतदाताको किताब बेच्दै घरदैलो गरिरहेका छन् । उनले भने, ‘चुनाव खर्च जुटाउन किताब बेचिरहेको छु । मैले किताब मात्र बेचिरहेको छैन्, विचार र ईतिहासको समेत अध्ययन गर्ने अवसर प्रदान गरिरहेको छु ।’

उनले २०८० सालमा ८ वटा पुस्तक प्रकाशन गरेका थिए । उनले ती पुस्तकको बण्डल नै बेचिरहेका छन् । प्रतिबण्डल पाँच हजार रुपैयाँसम्ममा बेच्ने गरेको धितालले बताए । उनले भने, ‘केहीले पाँच हजारमा लिइरहेका छन् त केहीले चुनाव खर्चमा सहयोग गर्ने भन्दै रकम थपिरहेका छन् ।’

उनले जुम्लाका हरेक बस्तीसम्म आफ्ना किताब पुर्‍याउने लक्ष्य राखेको बताए । जुम्ला सधैं परिवर्तनको पक्षमा रहेको समेत धितातले बताए । ‘जुम्ला विचारसहितको विकल्पको पक्षमा छ,’ धितालले थपे, ‘जुम्ली जनताको सल्लाह र आदेश अनुसार चुनावको मैदानमा होमिएका छौं ।’  

लोकतन्त्रको उच्चतम विधि चुनाव भएकोले सबैले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने तर्क उनको छ । जुम्लामा १० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उनीसहिते सिंजा क्षेत्रबाटै पाँच जना उम्मेदवार भएकोले चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।  

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully