पैसा लिएर अर्कैको नाममा प्रहरीको परीक्षा दिने १२ जना पक्राउ

प्रहरी जवान (जनपद) को लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थी नियन्त्रणमा

माघ १८, २०८२

तृप्ति शाही

12 people arrested for taking police exams in the name of others in exchange for money

वीरेन्द्रनगर — १२ जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) को लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको सुर्खेत प्रहरीले जनाएको छ ।

आर्थिक लाभ लिई अर्काको नाममा परीक्षा दिनेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनीहरू नागरिकता तथा प्रवेशपत्रमा फोटो हस्ताक्षर बदली किर्ते गरी परीक्षामा सहभागी भएका उनले बताए । उनीहरूमाथि लिखत,किर्ते आपराधिक लाभ कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता बुढथापाले बताए ।

पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका–११ का १९ वर्षीय केशव थापा, दैलेखको दुल्लु नगरपालिका–१ का १८ वर्षका रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का २४ वर्षका वीरबहादुर ठाडा छन् । 

यस्तै जाजरकोटकै कुशे गाउँपालिका–२ का १९ वर्षका बिपेश सिंह,जुनिचाँदे गाउँपालिका–१ का १८ वर्षका ललित रावल, कुशे–२ का १८ वर्षका सूर्यकिरण र २१ वर्षका निरज शाहीलाई नियन्त्रणमा लिएइको डीएसपी बुढथापाले बताए । उनका उनुसार छेडागाड नगरपालिका–१० का १९ वर्षीय चन्द्र शाह,कुशे–२ का २३ वर्षका नवराज विक,बाँकेको बैजनाथ गाउँपालिका–२ का २४ वर्षका रामु कार्की पनि अरुको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका छन् ।

यस्तै बैजनाथ–१ का २५ वर्षका मोतिलाल थारु र कुशे घर भई वीरेन्द्रनगर बस्ने २६ वर्षका पूर्णबहादुर सिंहलाई मतियारका रूपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully