चिसो छिचोल्दै उम्मेदवार मतदाताको दैलोमा

दिउँसोमा मतदाता घरमा नभेटिने भएका कारण एकाबिहानै शरीर कपाउने चिसोमा पनि नेताहरु घरदैलोमा पुगिरहेका छन् ।

माघ १८, २०८२

डीबी बुढा

Candidates arrive at voters' doorsteps in the cold

What you should know

जुम्ला — यतिबेला हिउँले छपक्कै ढाकिएका जंगल र नदीबाट आउने कठ्यांग्रिने हावाको सिरेटोका कारण सामान्य कामका लागि पनि बिहान बेलुका निस्कन मुस्किल छ । तर चुनावको मिति निजिकिँदै गर्दा दलका नेता कार्यकर्ताहरु भने ज्याकेट, टोपी, पञ्जा र मुखमा मास्क भिरेर घरदैलो अभियानमा जुटेका छन् । 

दिउँसोमा मतदाता घरमा नभेटिने भएका कारण एकाबिहानै शरीर कपाउने चिसोमा पनि नेताहरु घरदैलोमा पुगिरहेका छन् । केही उम्मेदवारले हिउँ पर्नुलाई किसानको वरदानका रुपमा अर्थ्याएका छन् । केहीले हिउँदेबाली सप्रने भन्दै हौस्याइरहेका छन् । तर विश्लेकहरु भने हिउँको चिसो देखाएर मतदाताको मन न्यानो बनाउने अस्त्रका रुपमा उम्मेदवारले लिइरहेको बताउँछन् ।

यता किसानहरु भने जितेर नफर्किने नेताहरु लस्करै कार्यकर्ता बोकेर चिसो हिउँमै घरदैलोमै भेट्दा छक्क छन । यो पटक जुम्लामा एकै महिना दुईपटक हिउँ पर्‍यो । चिसो अधिक बढेको छ । त्यही चिसोमा उम्मेदवारहरु गाउँगाउँमा पुगेका छन् । जुम्लामा हिमपातले जनजीवन प्रभावित बनिरहेको भए पनि राजनीतिक गतिविधिले माहोल भने तताइरहेको छ । 

जुम्लाका अधिकांश लेकाली भाग अहिले पनि हिउँले ढाकिएका छन् । कर्णाली राजमार्ग जोडिएका तल्लो क्षेत्रमा मात्रै सवारीसाधनको प्रयोग भइरहेको छ । गाउँमा खनिएका कच्ची सडकमा हिउँ थुप्रिएको छ । केही सडकहरु बरफले चिप्लो छन् ।

उम्मेदवारहरु हिँडेर प्रचारमा जानु बाहेक विकल्प छैन । हिउँ पर्दा पर्दै पातारासी गाउँपालिका–२ पेरेगाउँमा पुगेका नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारी आफू पातारासी हिमालको समिपमा पुगेर किसानको मनोबल उच्च बनाउने कार्यमा जुटेको प्रतिक्रिया दिन्छन् ।

Candidates arrive at voters' doorsteps in the cold

‘हामी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका क्रममा किसानको घरदैलोमा क्रियाशिल छौं । भारी मात्रमा हिउँ परिरहेको छ । यो हाम्रो लागि क्षणिक चिसो भए पनि किसानको लागि वरदान हो,’ नेकपाका उम्मेदवार भण्डारीले भने, ‘यो हिउँले किसानको अन्नबाली मात्रै सप्रने छैन । राजनीतिमा लागेको हिलो मैलो समेत पखाल्नेछ । यही चुनावमा स्वच्छ काम गर्ने प्रतिनिधि छान्न प्रेरित गर्नेछ ।’ निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न भण्डारीले सरकारसँग माग गरेका छन् । 

यस्तै राप्रपाका प्रवक्ता तथा उम्मेदवार ज्ञानेन्द्र शाही हिउँमै जिल्लाका आठ स्थानीय तहमा पुगिसकेका छन् । चिसोमै पहिलो चरणमा मत सर्वेक्षण गरिसकेका शाही अब जुम्लालाई हिउँ पर्यटकीय क्षेत्रका रुपमा चिनाउने बताइरहेका छन् । हिउँ परिसकेपछि सामाजिक सञ्जाल फेसबुकमा सम्बोधन गर्दै उनले जुम्ला हिउँले सेताम्य भएको बताए ।

Candidates arrive at voters' doorsteps in the cold

उनले भने, ‘अहिले जुम्ला खलंगा, राराताल, पातारासी हिमाल र सिँजा उपत्यका हिउँले सुन्दर देखिएका छन् । यो हिउँ किसानका लागि फाइदाजनक त छँदैछ, त्यो भन्दा पनि आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउन सहयोग पुग्ने देखिएको छ ।’

रास्वपाकी उम्मेदवार विनिता कठायत पनि हिउँमै मतदाताको घरदैलोमा पुगिन् । हिउँदे बालीका लागि जसरी हिउँ आवश्यक थियो, त्यसरी देश विकासका लागि चुनाव आवश्यक रहेको र मतदाताले सही उम्मेदवार छनोट गर्न हिउँदे वर्षाले प्रेरित गर्ने उनको भनाइ छ । 

Candidates arrive at voters' doorsteps in the cold

अहिले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका उम्मेदवारहरु दुर्गम गाउँ जान सकिरहेका छैनन् । उनीहरु सदरमुकाम आसपासका क्षेत्रमै प्रचार अभियान चलाइरहेका छन् । दैलोमा पुगेका उम्मेदवारसँग अहिले मतदाताले पनि आफ्ना मागहरु निर्धक्कसँग राखिरहेका छन् । गत वर्षको निर्वाचन जस्तो एकोहोरो उम्मेदवारले मात्र प्रवचन दिने कार्य रोकिएको छ । दोहोरो अन्तरक्रिया गरेर उम्मेदवारको मनोभावनासमेत मतदाताले बुझिरहेका छन् । 

नेकपाका उम्मेदवार भण्डारीले भने, ‘मतदाताका प्रतिक्रिया र सुझाव सुन्छौं । अनि मात्रै आफ्ना चुनावी एजेन्डाहरु पस्कन्छौं ।’

अहिले सबै उम्मेदवार मनमा आशा र बोलीमा प्रतिबद्धता बोकेर मतदाताको घरदैलोमा छन् । उम्मेदवारहरुले मतदाताको मागअनुसारका पूरा गर्ने प्रतिबद्धता पनि जनाइरहेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully