आन्दोलनका क्रममा पेट र पाखुरामा गोली लागेका शाही फुटबल खेलाडी हुन् ।
कालीकोट — जेन-जी आन्दोलनमा गोली लागेर सख्त घाइते भएका पवन शाहीलाई गृहजिल्ला कालीकोटमा भव्य स्वागत गरिएको छ।
गत भदौ २३ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा गोली लागेर घाइते भएका खाडाचक्र–१ का २५ वर्षीय पवन काठमाडौंमा उपचार गरेर ५ महिनापछि घर फर्केका हुन् । उनको स्वागतमा मान्म बजारका स्थानीयले बाजागाजा, फूलमाला, खादाअबिरले स्वागत गरेका छन् ।
आन्दोलनका क्रममा पेट र पाखुरामा गोली लागेका शाही फुटबल खेलाडी हुन् । उनी काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार गरेर शुक्रबार कालीकोट पुगेको उनका बुवा ऐनबहादुर शाहीले बताए । उनी पनि भलिबलका पूर्वराष्ट्रिय खेलाडी हुन् ।
शाही शुक्रबार सुर्खेत हुँदै कालीकोटको मान्म पुगेपछि जिल्लाका राजनीतिक दलका नेता कार्यकर्ता, मान्म, ताडीलगायतका आफन्तसहित बजारबासीले खुसी साट्दै स्वागत गरेको उनका ठूलो बुवा सूर्यबहादुर शाहीले बताए ।
जेन–जी आन्दोलनका घाइते शाहीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको बन्दसूचीमा राखेको छ। उनले कालीकोटबासीसँग भेटघाट गर्न र भोट माग्न जिल्ला फर्किएको सुनाए ।
