माघ १५ को राति प्रतिकात्मक विवाहको यो विधि सकिएपछि भोलिपल्ट दिउँसो दह छेउमा मेला लाग्ने गरेको छ।
What you should know
रुकुम पश्चिम — रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ सााख गाउँमा रहेको दह छेउमा परम्परागत विवाह उत्सव (पापिनी मेला) सम्पन्न भएको छ।
परापूर्वकालदेखि मनाइँदै आएको यो विवाह उत्सवलाई स्थानीयले ‘पापिनी मेला’ भन्ने गरेका छन्। गाउँका दुई चेलीलाई दुलाहा र दुलहीका रुपमा सिंगारेर मध्य माघको राति यो उत्सव मनाइएको हो ।
मध्य माघको राति साँख दह छेउमा परम्परागत विवाह उत्सवको बाजा गुञ्जिँदा गाउँका बासिन्दा रमाएका देखिन्थे। अघिल्लो दिननै साँख माथिको गाउँका केटा पक्षले तलीगाउँ पुगेर केटी माग्ने विधि पुर्याएका हुन्छन् । माघ १५ गते राति दुलाहालाई काँधमा राखेर नाच्दै १५ जना कन्याका साथमा प्रतिकात्मक जन्तीसहित दुलाहा पक्ष तलीगाउँको दह छेउ अर्थात दुलहीको घरतर्फ लम्किएका थिए ।
दुलहीको घरमा जन्ती पुगेपछि चिराग बालेर उनीहरुको स्वागत गरे । दुलाहा र दुलहीको भेट भएपछि टीकाटालो गरेर नाचगान गरे । केही बेरमा दुलही लिएर जन्ती तल्लो गाउँको दह छेउ अर्थात दुलाहको घरतर्फ फर्किए । यता दुलहीको स्वागतका लागि तलीगाउँका बासिन्दा तम्तयार भएर बसेका थिए । जब दुलही लिएर जन्ती घर फर्किए उनीहरुको भव्य स्वागत भयो । नवदुलहीलार्ई भित्र्याएर विवाहको विधि पूरा गरी टीकाटालो गरियो ।
विवाहको खुसीयालीका केटाको घरमा नाचगान र रमझम भयो । यसैगरी हरेक वर्ष माघ १५ मा यहाँ एउटा काल्पनिक परम्परागत विवाह गर्ने संस्कृति रहेको स्थानीय पूर्णबहादुर बुढाले बताए । ‘राक्षसनीको प्रभाव कम गर्न र गाउँघरमा शान्ति कायम हुने किवदन्तीका आधारमा यो मेला लाग्ने चलन छ,’ उनले भने ।
माघ १५ को राति प्रतिकात्मक विवाहको यो विधि सकिएपछि भोलिपल्ट दिउँसो दह छेउमा मेला लाग्ने गरेको छ।
