भाैगाेलिक रुपमा अत्यन्तै विकट यो वडामा पुरुष २१ र महिला १९ गरेर ४० जनाको मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले बताए ।
डाेल्पा — हिमाली जिल्लाकाे डाेल्पाकाे शे–फोक्सुण्डाे गाउँपालिका ६ फाेत गाउँमा ४० जना मात्रै मतदाता रहेका छन् ।
फागुन २१ काे प्रतिनिधिसभा निर्वाचनमा फाेत गाउँको मतदान केन्द्रमा चालीस जनामात्र मतदाता रहेका हुन् ।
भाैगाेलिक रुपमा अत्यन्तै विकट यो वडामा पुरुष २१ र महिला १९ गरेर ४० जनाको मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले बताए ।
यसैगरी कम मतदाता हुने वडामा डाेल्पाेबुद्व गाउँपालिका २ कलाङमा ६४ जना, शे–फोक्सुण्डो गाउँपालिका ७ कु गाउँमा ९६ जना र छार्काताङ्साेङ् गाउँपालिका २ पुङ्दाबगरमा ८३ जना मतदाता रहेका छन् ।
कुल ६८ वटा मतदान केन्द्रमा सबैभन्दा कम मतदाता फाेत गाउँमा र सबैभन्दा धेरै ठूलीभेरी नगरपालिका ६ थरगाउँमा रहेका छन् । थरगाउँमा ९ सय ३८ जना मतदाता रहेका छन् । त्यसपछि त्रिपुरासुन्दरी नगरपालिका १ स्थित त्रिपुराकाेटमा धेरै रहेका रहेका छन् । जहाँ ८ सय ९९ जना मतदाता छन् ।
उपल्लो डाेल्पाका तीन वटा पालिका हालसम्म पनि राष्ट्रिय सडकसञ्जालमा नजाेडिएकाले सदरमुकाम दुनैबाट पुग्नै एकसातासम्म लाग्ने गर्दछ । भाैगाेलिक रुपमा विकट भएकाले उपल्लो डाेल्पाका कतिपय वडामा एकबाट अर्काे वडा पुग्नै दुई दिनसम्म लाग्ने गरेकाे छ ।
