नेकपा रुकुम पश्चिमद्वारा चुनावी ‘संकल्प–पत्र’ सार्वजनिक

संकल्प–पत्रमा ‘शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार, आत्मनिर्भर रुकुम पश्चिमको आधार’ भन्ने मूल नारा तय गरिएको छ ।

माघ १५, २०८२

महेश केसी

NCP Rukum West releases election 'resolution'

What you should know

रुकुम पश्चिम — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ‘संकल्प–पत्र’ सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका–५ सेरिगाउँमा पत्रकार सम्मेलन गरेर विभिन्न विषयमा प्रतिबद्धता सार्वजनिक गरेको हो ।

नेकपाका तर्फबाट रुकुम पश्चिमका उम्मेदवार गोपाल शर्मासमेतको उपस्थितिमा निर्वाचन परिचालन समितिका संयोजक वसन्त शर्माले प्रस्तुत गरेको संकल्प–पत्रमा ‘शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार, आत्मनिर्भर रुकुम पश्चिमको आधार’ भन्ने मूल नारा तय गरिएको छ । 

सडक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, संस्थागत विकास तथा सुशासन र वन, वातावरण तथा विपत् व्यवस्थापन गरेर पाँच क्षेत्रमा काम गर्ने भनेर नेकपाका तर्फबाट संकल्प गरिएको छ । ५ पृष्ठको ‘संकल्प–पत्र’मा यसपल्ट शीर्षक अनुसार प्रतिबद्धता गरिएको बताउँदै निर्वाचन परिचालन समिति संयोजक शर्माले यसैलाई आधार बनाएर आगामी दिनका काम गर्ने बताए । 

‘केही दिनमा केन्द्रले देशभरको आवश्यकता र सन्दर्भ जोडेर घोषणा–पत्र सार्वजनिक गर्नेछ,’ शर्माले भने, ‘स्थानीय माग र आवश्यकतालाई ध्यान दिएर यो तयार गरिएको हो । यसलाई थपघट र आवश्यक परिमार्जन गरेर अघि बढिनेछ ।’ 

मुसिकोट नगरपालिकाबाट चुनावी प्रचारप्रसारको कार्यक्रम अघि बढाइसकिएको जानकारी दिँदै उम्मेदवार गोपाल शर्माले आगामी दिनमा बाँकी रहेका सबै वडा तथा टोलमा पुगेर यही ‘संकल्प–पत्र’का विषयहरू बताउने र मत माग्ने बताए । ‘बिनाकुनै तामझाम हामी सिधै मतदातामाझ पुग्दैछौं । हामी विगतको समीक्षा र आगतको योजनासहित अघि बढ्नेछौं । सकेसम्म धेरै मतदाताको घरदैलोमा पुग्नेछौं ।’ 

निर्वाचन मिति फागुन २१ नजिकिँदै गर्दा दल तथा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारका गतिविधिलाई व्यापक बनाउँदै लगेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा जम्मा १२ दलले आफ्ना उम्मेदवार अघि सारेका छन् ।

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully