अघिल्लो हिमपात भएको एक सातासमेत बित्न नपाउँदै डोल्पामा पनि पुनः हिमपात सुरु भएको ठुलीभेरी नगरपालिका–८ का वडाध्यक्ष मनराम ठकुल्लाले बताए ।
डोल्पा — कर्णाली प्रदेशअन्तर्गतका जिल्लाहरूमा पुनः हिमपात सुरु भएको छ । गएराति देखिनै डोल्पा, हुम्ला, मुगु लगायतका हिमाली जिल्लाहरूमा भारी हिमपात सुरु भएको हो ।
अघिल्लो हिमपात भएको एक सातासमेत बित्न नपाउँदै डोल्पामा पनि पुनः हिमपात सुरु भएको ठुलीभेरी नगरपालिका–८ का वडाध्यक्ष मनराम ठकुल्लाले बताए ।
विगतका वर्षहरूमा भन्दा यसपालि धेरै पटक र धेरै हिमपात भएको उनको भनाइ छ । हिउँले गाउँबस्ती र डाँडाकाँडा ढपक्कै ढाकिएपछि अत्यन्तै सुन्दर देखिएको वडाध्यक्ष ठकुल्लाले बताए ।
यसैगरी जगदुल्ला गाउँपालिकामा पनि एकाबिहानैदेखि हिमपात सुरु भएको स्थानीय युवा कमल नेपालीले जानकारी दिए । अहिले पनि हिमपात जारी रहेकाले दिनभर नै पर्ने सम्भावना रहेको उनले बताए ।
उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङ्सो गाउँपालिकामा बाक्लो हिउँ जम्नुका साथै हिमपात जारी रहेको बताइएको छ ।
हिमपातपछि तापक्रम माइनसमा झरेको छ भने सर्वसाधारणको जनजीवन कष्टकर बनेको सर्वसाधारणले बताएका छन् ।
धावन मार्गमा बाक्लो हिउँ जमेपछि डोल्पाको जुफाल, हुम्लाको सिमिकोट लगायतका विमानस्थलसमेत अवरुद्ध हुनुका साथै आन्तरिक हवाई उडानहरू प्रभावित भएका छन् ।
एक साताको अन्तरमा भएको हिमपातले खेतबारीमा लगाइएका जेठासे अन्नबालीहरू सप्रने भन्दै डोल्पाली कृषकहरूमा खुसीयाली छाएको छ ।
वर्षासहितको हिउँ गहुँ, जौ, उवा लगायतका अन्नबालीका लागि राम्रो मानिने बताइन्छ ।
हिमपातले बहुमूल्य जडीबुटी यार्सागुम्बाको उत्पादनसमेत राम्रो हुने सङ्कलकहरूको भनाइ छ ।
यतिबेला परेको हिउँले आसन्न २१ फागुनमा तोकिएको निर्वाचनका लागि भने थप चुनौती थपिएको बताइएको छ ।
