डोजरले हिउँ पन्छाएर खुलाइयो नाग्म–गमगडी सडक

मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले झण्डै तीन किलोमिटर सडक खण्डमा जमेको हिउँ डोजरले हटाएको बताए ।

माघ १३, २०८२

डीबी बुढा

Nagam-Gamgadi road cleared of snow with dozers

What you should know

जुम्ला — सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर नाग्म गमगडी सडक खुलाएको छ ।

नाग्म गमगडी सडक खण्डको सातमाड क्षेत्रमा डेढ फिट भन्दा धेरै हिउँ जमेको थियो । जसले साना ठूला सवारीसाधन आवतजावतमा कठिनाइ थियो । 

मुगुबासी सहजै रुपमा सवारी यात्रा गर्न नपाउँदा हिउँमै पैदल हिँड्न बाध्य थिए । मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले झण्डै तीन किलोमिटर सडक खण्डमा जमेको हिउँ डोजरले हटाएको बताए ।

Nagam-Gamgadi road cleared of snow with dozers

उनले भने, ‘हिउँ पन्छाउन मुगुमा डोजर खोज्यौं तर भेटिएन । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर जुम्लाबाटै डोजर मगाएर सडक खुलाउँदै अघि बढेको हो ।’

Nagam-Gamgadi road cleared of snow with dozers

उनका अनुसार अहिले ठूला गाडीहरु चल्न समस्या छ । तर साना सवारी निर्वाध रुपमा चलिरहेका छन् । ‘केही ठुला गाडीहरु डोजरले तानेरै जुम्ला पठायौं,’ प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘अहिले पूर्णरुपमा सडकमा जमेको हिउँ हटाइसकेकोले खासै समस्या छैन ।’

Nagam-Gamgadi road cleared of snow with dozers

सडकमा बाक्लो हिउँ जमेका कारण नाग्म गमगडी सडक दुईदिन बन्द थियो । सडक डिभिजन कार्यालयले माघ ११ गते आंशिक रुपमा सडक खुलेपछि १२ गतेदेखि पूर्ण रुपमा सडक खुलेको जानकारी दिएको छ । सडक यातायात खुलेसँगै सडक पूर्णरुपमा सुचारु भएको समेत सडक डिभिजन कार्यालयको भनाइ छ ।

Nagam-Gamgadi road cleared of snow with dozers

यता यात्रुहरुले भने हिउँ पर्ने समय सम्मका लागि दुवै तर्फ डोजर तयारी अवस्थामा राख्न माग गरेका छन् । मौसम विज्ञान विभागले अझै हिमपात हुन सक्ने जानकारी दिएकोले सहजै रुपमा यात्रा गर्न पाउने गरेर व्यवस्था मिलाइदिन समेत आग्रह गरेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully