पालिकाको योजना वितरणमा पार्टीगत हिसाबले नभइ सबैलाई समान व्यवहार गरिरहेकाे उनीहरु बताउँछन्।
सुर्खेत — हिमाली जिल्ला डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका उपाध्यक्षहरुले पालिकामा सबैको मन बुझाउने गरी काम गरिरहेकाे बताएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्न डोल्पाबाट दुई दिन लगाएर कर्णाली प्रदेश राजधानी सुर्खेत झरेका उनीहरुले पालिकामा योजना वितरणमा पार्टीगत हिसाबले नभइ सबैलाई समान व्यवहार गरिरहेकाे बताउँछन्। ‘हामीले तराजुले तौलेझैँ सबैलाई समान व्यवहार गरेका छौं,' जगदुल्ला गाउँपालिका उपाध्यक्ष अमृता रोकायले भनिन्, ‘आफ्ना गाउँठाउँमा काम गर्दा भेदभाव गर्न नीतिले दिँदैन, जनप्रतिनिधि भएपछि कसैलाई धोका दिन हुँदैन ।'
पालिका अध्यक्ष हुन मन भए पनि उमेरले सक्ने अवस्था नरहेको उनले बताइन्। 'उमेरले नेटो कट्यो अब अरूलाई पालो दिनु पर्यो । दुई कार्यकाल उपाध्यक्ष भइयो। अब दुई कार्यकाल बढी एउटै पदमा हुन मिल्दैन,’ उनले भनिन्। उमेरले ७० नाघेकी अमृताले पहिलो कार्यकालमा उपप्रमुख भएर काम गर्न निकै गाह्रो भएको बताउँछिन्। ‘सुरुसुरुमा कसरी काम गर्ने कसैले सिकाएनन्,' उनले भनिन्, ‘अब त धेरै बुझ्ने भइसकेका छौं । हाम्रा उमेरका दिदीबहिनी हिँडडुल गर्न सक्दैनन् हामी त जनताका काम गर्दै छौं ।’
मुड्केचुला गाउँपालिका उपाध्यक्ष ६० वर्षीया दुदा रोकोय भने अब अन्य महिलाहरुलाई पालो दिने सोचमा रहेको बताउँछिन् । ‘यस्तो काममा सबै महिलाले पालो पाउनु पर्छ,' उनले भनिन्, ‘हाम्रातिरका महिलाहरु हामीलाई देखेपछि अब राजनीतिमा चासो देखाउन थालेका छन् ।’
