पोल गाडेको वर्ष बित्यो, बलेन बत्ती

बत्ती बाल्न नपाउँदा ६ वटा बस्तीका ३ सय परिवार पूर्णरुपमा प्रभावित भएका छन् ।

माघ १२, २०८२

विप्लव महर्जन

A year has passed since the pole was buried, but the lamp has not been lit.

What you should know

सल्यान — जिल्ला पूर्णविद्युतीकरण अन्तर्गत कुमाख गाउँपालिका–२ खारखोला, बारुले, लंगेटा, नारायणटाकुरा, डाँडाकटेरी, रतुवाचाउना बस्तीलाई समेटेर पोल गाडेर लाइन तानेको एक वर्ष भैसक्दा पनि स्थानीयले बत्ती बाल्न पाएका छैनन्।

लाइन बिस्तारको काममा ठेकेदारले गरेको लापरवाहीका कारण वडाका विभिन्न बस्तीका स्थानीयले अहिलेसम्म बत्ती बाल्नबाट बन्चित भएका हुन्। 

यी बस्तीका वासिन्दा अहिलेसम्म सौर्य टुकीको भरमा छन् । बिजुली नपुगेकै कारण ईन्टरनेट सेवा संचालनमा कठिनाई हुँदा विभिन्न किसिमको अनलाईन सेवा प्रभावित भएको छ। बत्ती बाल्न नपाउँदा ६ वटा बस्तीका ३ सय परिवार पूर्णरुपमा प्रभावित भएका छन् । 

पोल गाडेको देख्दा छिट्टै अन्धकारबाट मुक्त हुने सपना अधुरो भए पनि अहिलेसम्म अन्धकारमा बस्नु परेको लंगेटाकी सिता ओलीले बताइन् । रातिको समयमा उज्यालोका लागि सौर्य टुकी, मट्टितेलबाट बल्ने टुकी र टर्च प्रयोग गर्न बाध्य भएको उनले बताइन् । ‘एक/डेढ वर्षअघि गाडेको पोल गत साउनमो पहिरोका कारण केही स्थानमा ढल्न थालेका छन् । बत्ती कहिले बल्ने हो भन्ने अत्तोपत्तो छैन,’ उनले भनिन् ।

पोल गाडेको लामो समय भैसक्दा पनि बत्ती बाल्न नपाएको वर्ष ५५ की रमा ओलीले बताइन् । बिजुली छिट्टै बल्ने सपनामा घरमा वाईरिङ गरे पनि पुरानो भइसकेको उनले बताइन्। उनका अनुसार बत्ती बालेर रातिको समयमा घर उज्यालो बनाउने सपना अधुरो भएको छ । जतिसक्यो छिटो बत्ती बाल्नका लागि सम्बन्धित निकायमा आग्रह गर्दै आए पनि कुनै सुनवाई नभएको उनको भनाई छ । 

वडासदस्य रहेका लालबहादुर रावतले ताकेता गर्दै आए पनि ठेकेदारको बेवास्ताका कारण विजुली बाल्न नपाएको बताए । बालबालिका रातिको समयमा पढाईबाट बञ्चित हुनु परेको, हातमा सीप भए घरलेु उद्योग संचालनबाट बञ्चित हुन परेका उनले बताए। 

ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गरे पनि अहिले नेटा बजार, कैनकाँडामा बत्ती बाल्न सफल भएको वडाध्यक्ष ईश्वरी शाहीले बताए । ठेकेदारलाई ताकेता गर्दा विद्युत प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराउन नसकेको भन्दै टार्दै आएको उनले जानकारी दिए । वडाका सबै बस्तीमा बत्ती बाल्न जिल्ला प्रदेश हुँदै केन्द्रसम्म पुगेर ज्ञापनपत्र समेत पेश गरिएको उनको भनाई छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully