जुम्लामा ४५३ निर्वाचन प्रहरी वैकल्पिक सूचीमा

कुल ९७४ जना निर्वाचन प्रहरीको कोटा रहेको जुम्लामा १ हजार ४ सय २७ जना उत्तीर्ण भएका हुन् ।

माघ १२, २०८२

डीबी बुढा

453 election policemen in Jumla on alternate list

What you should know

जुम्ला — आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि जुम्लामा माग भन्दा धेरै निर्वाचन प्रहरी उत्तीर्ण भएका छन् ।

कुल ९७४ जना निर्वाचन प्रहरीको कोटा रहेको जुम्लामा १ हजार ४ सय २७ जना उत्तीर्ण भएका हुन् । जिल्ला प्रहरी प्रमुख डिएसपी रबिनबाबु रेग्मीले न्यूनतम पास अंक आएका सबैलाई वैकल्पिकमा राखिएको जानकारी दिए।

उनका अनुसार देशका कुनै पनि जिल्लामा माग भएको खण्डमा पठाउन सकिने गरी निर्वाचन प्रहरीलाई ‘रिजर्भ’मा राखिएको हो । उनले भने, ‘जुम्लामा आवश्यक हुने जनशक्ति उत्तीर्ण भइसकेको छ । बाँकी अरु जिल्लाले माग गरेको खण्डमा पठाउन सकिने गरेर तयारी अवस्थामा राखिएको छ ।’ 

कर्णालीका सबै जिल्लामा कोटा भन्दा धेरैको दरखास्त परेकोले खासै अभाव देखिएको छैन तर कर्णाली बाहिरका जिल्लामा पठाउन सकिने सम्भावना रहेको छ । त्यसैका लागि थप जनशक्ति वैकल्पिकमा राखिएको उनको भनाइ छ । ‘अहिले ४५३ जना वैकल्पिक जनशक्तिका रुपमा राखिएको छ,’ डिएसपी रेग्मीले भने, ‘माग आउने वित्तिकै वैकल्पिकमा परेकालाई रोलक्रमका आधारमा फोन गरेर छनौट गरेर पठाइनेछ । त्यही अनुसार उनीहरुलाई परिपत्र गरिएको छ ।’ 

अहिले गण्डकी र सुदूरपश्चिमका केही जिल्लामा कोटा अनुसार निर्वाचन प्रहरी पुगेकमा छैनन् । केन्द्रले नै धेरैभन्दा धेरै पास गरेर राख्ने निर्देशन गरेपछि लिखित उत्तीर्ण भएका सबैलाई वैकल्पिक जनशक्तिका रुपमा राखिएको हो । जुम्लाका लागि ३८६ महिला र ६ सय ६ जना पुरुष निर्वाचन प्रहरी छनौट भइसकेका छन् । ९६ जना सशस्त्र प्रहरीले छनौट गरेको छ । 

कुल १८ सय ९६ जनाले फर्म झरेका थिए । जिल्लाका लागि चाहिने जनशक्तिलाई माघ १५ गते नियुत्ती प्रदान गरेर तालिममा परिचालन गर्ने तयारी छ । माघ २५ गतेसम्म तालिम दिएर उनीहरुलाई निर्वाचनमा खटाइने डिएसपी रेग्मीले जानकारी दिए । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully