राज्यको उपेक्षाबाट डोल्पालाई छुट्कारा दिलाउने स्वतन्त्र उम्मेदवार केसीको प्रतिबद्धता

विगतमा दलीय राजनीतिमा रहेर काम गर्दा दलगत स्वार्थ, अवसरवाद र जनताप्रतिको गैरजवाफदेहिता देखिएको र जनसेवा प्रभावकारी नभएको अनुभूति भएपछि नेकपा छोडेर स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ।

माघ ११, २०८२

रामचन्द्र न्यौपाने

Independent candidate KC's commitment to free Dolpa from state neglect

डोल्पा — स्वतन्त्र उमेदवारी दिएका ओमेन्द्र केसीले डोल्पाको समग्र विकास गर्ने र राज्यको उपेक्षाबाट यसलाई छुट्कारा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै केसीले डोल्पाका मुख्य समस्याका रूपमा रहेका शिक्षा, स्वास्थ्य, सडक, रोजगारीलगायतका समस्याबाट छुट्कारा दिलाउने प्रतिबद्धता जनाएका हुन् ।

यससँगै दुर्गम हिमाली जिल्ला डोल्पालाई विकास निर्माण लगायत विभिन्न बहानामा राज्यले उपेक्षा गरेका महसुस भएकाले यस प्रकारको विभेदलाई चिर्न पहल गर्नेसमेत बताएका छन् ।

यदि आफू निर्वाचित भएमा जिल्लाका आवाजलाई प्रतिनिधिसभामा बुलन्द पार्ने समेत उनले बताए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्र रहेको डोल्पामा एकमात्र स्वतन्त्र उम्मेदवार उनले ‘प्रेसर कुकर’ चुनाव चिह्न प्राप्त गरेका छन् ।

विगतमा दलीय राजनीतिमा रहेर काम गर्दा दलगत स्वार्थ, अवसरवाद र जनताप्रतिको गैरजवाफदेहिता देखिएको र जनसेवा प्रभावकारी नभएको अनुभूति भएपछि नेपाली कम्युनिस्ट पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ।

त्यतिमात्र नभई जेनजी पुस्ताको मर्म र विश्वास अनुसार काम गर्ने पनि उनले बताए ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully