बसपार्कमा जग्गादाताको सालिक निर्माण

२०६६ सालमा लक्ष्मण देवकोटाको नाममा श्रीमती देवी देवकोटाले बसपार्क निर्माणको लागि दुई रोपनी बढी जग्गादान गरेकी थिइन् ।

माघ ९, २०८२

विप्लव महर्जन

Construction of a statue of the landowner at the bus park

सल्यान — शारदा नगरपालिका–३ थापागाउँस्थित बसपार्कमा जग्गादाता लक्ष्मणबहादुर देवकोटाको सालिक निर्माण गरिएको छ । बाबुको सम्झनामा देवकोटाका छोराछोरीको लगानीमा सालिक निर्माण गरिएको हो ।

२०६६ सालमा लक्ष्मण देवकोटाको नाममा श्रीमती देवी देवकोटाले बसपार्क निर्माणको लागि दुई रोपनी भन्दा बढी जग्गादान गरेकी थिइन् । पाँच रोपनी क्षेत्रफलमा निर्माण गरिएको बसपार्कका लागि स्थानीय सुरेश महर्जन, राधा शर्मा, अर्जुन ओलीले पनि जग्गादान गरेका थिए ।

बसपार्कमा निर्माण गरेको सालिक शुक्रबार सरस्वती पूजाको अवसरमा पूर्वसांसद अनिशा नेपालीले अनावरण गरिन् । देवकोटाको सालिक निर्माणमा सांसद नेपालीले पनि सघाएकी थिइन् । 

बसपार्क निर्माणमा झन्डै २ करोड खर्च भइसकेको छ । बसपार्क बने पनि अहिलेसम्म ब्यवस्थित हुन सकेको छैन । यातायात व्यवसायीले विभिन्न कारण देखाउँदै बसपार्कमा गाडी राख्न बेवास्ता गर्दा ३० भन्दा बढी गाडी अट्ने क्षमताको बसपार्क प्रयोगविहीन जस्तै भएको छ । 

सदरमुकाम खलंगामा बसपार्क नभएको र भीमसेन स्थानमा अस्थायी रुपमा गाडी राख्ने गर्दा सबैलाई समस्या भएपछि स्थानीयले जग्गादान गरेपछि सडक डिभिजन कार्यालय दाङ र तत्कालीन जिल्ला विकास समिति सल्यानको लगानीमा शारदा नगरपालिका ३ थापागाउँमा बसपार्क निर्माण गरिएको स्थानीय ईन्द्रकुमार शर्माले बताए ।

प्रयोगविहीन जस्तै भएको बसपार्कलाई व्यवस्थित बनाउन सम्बन्धित निकायमा पहल भएको उनले जानकारी गराए ।    

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully