सल्यानमा १६ मध्ये एकै पालिकाका ६ उम्मेदवार

शारदा नगरपालिकाबाट चार राजनीतिक दल र दुई स्वतन्त्र गरी ६ जनाले उमेदवारी दिएका हुन्।

माघ ८, २०८२

विप्लव महर्जन

6 out of 16 candidates in Salyan from the same municipality

सल्यान — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा एकै पालिकाका ६ जनाले उमेदवारी दिएका छन्।

शारदा नगरपालिकाबाट चार राजनीतिक दल र दुई स्वतन्त्र गरी ६ जनाले उमेदवारी दिएका हुन्। 

उम्मेदवारी दिनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट शारदा–३ का सन्तोषकुमार राई, आम जनता पार्टीबाट वडा–१ का मानसिंगे कामी, संयुक्त नागरिक पार्टीबाट वडा–१५ का कालीदास विक, राष्ट्रिय जनमोर्चाबाट वडा–१२ की कमला डाँगी उम्मेदवार छन्।

शारदा–१ का ध्रुवराज वली र वडा–३ का जुद्धबहादुर सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिएकामा ३५ वर्ष पार नगरेका कमला डाँगी, ध्रुबराज वली र जुद्धबहादुर सिंह रहेका छन्। 

प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा मंगलबार दुई महिलासहित १६ जनाले उम्मेदवारी दिएका थिए। उम्मेदवारी दिएकामा एमाले र राप्रपाका दुई उम्मेदवार पुरानै भए पनि अन्य सबै नयाँ छन्। 

पठनपाठन र रोजगारीको लागि जिल्ला बाहिर बस्दै आएका स्वतन्त्र उमेदवार ध्रुवराज वलीले जिल्लालाई देशव्यापी रुपमा चिनाउन र पछिल्लो समयमा बढ्दै गएको विकृतिलाई अन्त्य गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्।

निर्वाचनको नतिजा जस्तो आए पनि जिल्ला चिनाउन र विकृति अन्त्य गर्न निरन्तर लागिरहने उनले बताए। राष्ट्रिय जनमोर्चाकी कमला डाँगीले अन्यायमा परेका महिलाहरुको हकहितका लागि आवाज उठाउन आफू उम्मेदवार बनेको बताइन् ।  

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully