जुम्लाको चुनावी मैदानमा एक्ली महिला विनीता

जुम्लाको इतिहासमा विनीता दोस्रो प्रत्यक्ष महिला उम्मेदवारका रूपमा निर्वाचन आयोगमा नाम दर्ज गर्ने महिला उम्मेदवार हुन् । यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रले गोमा गौतम कुँवरलाई उम्मेदवार बनाएको थियो ।

माघ ७, २०८२

डीबी बुढा

Vinita, the only woman in the Jumla election field

जुम्ला — आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लाबाट विनीता कठायत एक्ली महिला उम्मेदवार बनेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई प्रत्यक्षको टिकट दिएर चुनावी मैदानमा पठाएको हो । उनी एक्ली महिला उम्मेदवार मात्रै होइनन्, कान्छी उम्मेदवार पनि हुन् । मुख्य निर्वाचन कार्यालय जुम्लामा १० जनाले मनोनयन दर्ता गरेकामा उनी एक्ली महिला उम्मेदवारका रूपमा छन् ।

जुम्लाको इतिहासमा विनीता दोस्रो प्रत्यक्ष महिला उम्मेदवारका रूपमा निर्वाचन आयोगमा नाम दर्ज गर्ने महिला उम्मेदवार हुन् । उनको उम्मेदवारीलाई जेनजी पुस्ताले सहयोग गरिरहेको छ । यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रले गोमा गौतम कुँवरलाई उम्मेदवार बनाएको थियो । उनी ज्ञानबहादुर शाहीबाट पराजित भएकी थिइन् । 

यो पटक रास्वपाले विनीतालाई उम्मेदवार बनाएर मैदानमा पठाएको छ । चुनाव जितेर छाड्ने विनीताको दाबी छ । २०७९ सालको निर्वाचनमा समानुपातिक सांसद भइसकेकी विनीता यस पटक प्रत्यक्षमा भिड्दै छिन् । उनी ९ जना पुरुष उम्मेदवारसँगै भिड्दैछिन् । सांसदको अनुभव पाइसकेकी विनीता जेनजी आन्दोलनले पछिल्लो पुस्ता परिवर्तन चाहन्छ भन्ने प्रमाणित गरेको भन्दै त्यही पुस्ताको नेतृत्व गर्न मैदानमा उत्रिएको बताउँछिन् ।

‘हामीले बारम्बार संसदमा परिवर्तन र विकासको पक्षमा बोल्यौं । सुशासन र समृद्धिका पक्षमा आवाज उठायौं । कुनै सुनुवाइ हुन सकेन । अहिले सडकमा निस्किएर जेनजीहरूले परिवर्तन चाहेको अनुभूति गराएका छन् । त्यसैको नेतृत्व लिन हाम्रो उम्मेदवारी हो,’ विनीताले भनिन् ।

मनोनयन दर्ता गर्दा उनलाई जेनजीहरूले साथ दिइरहेका थिए । ‘जुम्ला र समग्र कर्णालीको भाषा एउटै हो, दुःख पनि एउटै छ,’ विनीताले भनिन्, ‘एक जना मात्रै व्यक्तिलाई केन्द्रमा राखेर होइन, समग्र भूगोल चिनाउने र नीति निर्माण गरेर कार्यान्वयन गर्ने थलोको नेतृत्व गर्न उम्मेदवारी दिएकी छु । पक्कै पनि जुम्लाबासी मतदाताले जिताउनेछन् भन्ने आशा छ ।’

उनले अन्य पार्टी, व्यक्ति र नेतृत्व हेरिसकेकाले यस पटक आफूलाई मौका दिन समेत आग्रह गरिन् । आफूले जुम्ली नागरिकका कथा व्यथा नजिकैबाट नियालेको बताउँदै आफू त्यसैको प्रतिनिधिका रूपमा संसदमा जान चाहेको पनि उनले बताइन । 

कर्णालीलाई जहिल्यै पनि नीति र बजेटमा पछाडि पार्ने गरिएको उनको आरोप छ । ‘संसदमा रहँदाखेरि कर्णालीजस्तो पिछडिएको क्षेत्रका लागि अनुकूल कानुन बनाउन आवाज उठाइरह्यौं । सम्मान होइन, समानता चाहियो भन्दै खबरदारी गरिरह्यौं,’ विनीताले भनिन्, ‘बहुमतको दम्भले सुनुवाइ गरेन । यसपटक बहुमतका साथ संसदमा पठाउनूस् । त्यसपछि बन्ने युवाको सरकारले कर्णालीका लागि अनुकूल कानुन बन्नेछन् । अनि अन्त्य हुनेछ, कर्णाली र सुगम क्षेत्रको विभेद ।’

गत चुनावमा समानुपातिक तर्फ जुम्लामा रास्वपाले ९ सय मत पाएको थियो । यस पटक आफ्नो साहस र योजनाको कदर हुने विश्वास विनीताको छ । उनी मनोनयन दर्ता गरेसँगै घरदैलो अभियानमा सक्रिय भएकी छिन् । संसदमा पहिलोपटक प्रवेश गर्दा उनी खस पोसाकमा पसेकी थिइन् । पटक–पटक खस भाषा बोलेर खबरदारी गर्ने सांसदको रूपमा उनले आफ्नो परिचय दिएकी थिइन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully