एमाले जुम्लाबाट शान्तिलाल महत उम्मेदवार

महत २०७४ सालमा चन्दननाथ नगरपालिकाको मेयरमा लडे पनि पराजित भएका थिए ।

माघ ४, २०८२

डीबी बुढा

UML candidate Shantilal Mahat from Jumla

जुम्ला — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले जुम्लाका अध्यक्ष शान्तिलाल महतलाई उम्मेदवारका रुपमा चयन गरेको छ । 

शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले जुम्लाबाट शान्तिलाल महतलाई उम्मेदवारका रुपमा चयन गरेको हो । यसअघि बसेको एमाले जुम्लाको बैठकले महतको नाम एकल सिफारिस गरेको थियो ।

नेकपा एमाले जुम्लाका सचिव मानबहादुर रोकायाले शान्तिलाल महतको नाम जिल्लादेखि नै एकल सिफारीस भएकोले समस्या नभएको बताए । ‘पार्टीलाई एकताबद्ध बनाउन र जिल्लामा एकताको सन्देश फैलाउन एकल सिफारिस भएको थियो,’ सचिव रोकायाले भने, ‘केन्द्रले सोही अनुसार उम्मेदवार चयन गरेको हो ।’

सबैको सहयोग र समर्थनले एमालेको जीतलाई सुनिश्चित बनाउनुपर्ने उनको भनाइ छ । उम्मेदवार महत २०७४ सालमा चन्दननाथ नगरपालिकाको मेयरमा लडे पनि पराजित भएका थिए । 

उनी आठौं र नवौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । जुम्लामा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाए पनि  अन्य दलले टुंगो लगाउन सकेका छैनन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully