यी हुन् कर्णालीका १२ वटै निर्वाचन क्षेत्रका एमाले उम्मेदवार 

मंगलबार मनोनयन पत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका रहे पनि कर्णालीबाट एमालेले सबै उम्मेदवारको टुंगो लगाएको हो ।

माघ ४, २०८२

कृष्णप्रसाद गौतम

These are the UML candidates for all 12 constituencies in Karnali

What you should know

सुर्खेत — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ । 

एमालेले सुर्खेत–१ मा ध्रुव शाही र सुर्खेत–२ मा कुलमणि देवकोटालाई उम्मेदवार बनाउने भएको हो । जिल्ला अध्यक्ष देवकोटा पहिलोपल्ट निर्वाचनमा भाग लिँदै छन् भने शाही एकपटक विजयी र एकपल्ट पराजित भएका थिए । शाहीले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता पूर्णबहादुर खड्कालाई पराजित गरेका थिए भने गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा खड्कासित पराजित भएका थिए ।

सल्यानबाट एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाह उम्मेदवार बनेका छन् । २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएका उनी २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार सुरेश अधिकारीसँग पराजित भएका थिए । रुकुम पश्चिमबाट जिल्ला अध्यक्ष नन्दराम देवकोटाले पुनः टिकट पाएका छन् । उनी गत प्रतिनिधिसभा निर्वाचनमा पूर्व माओवादीका जनार्दन शर्मासँग पराजित भएका थिए । 

कालीकोटबाट एमालेले नागेन्द्र शाही (नेसनल) लाई उम्मेदवार बनाउने भएको छ । उनी यसअघि पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका थिए । जुम्लाबाट उम्मेदवारको टिकट पाएका शान्तिलाल महत र मुगुका पूर्णबहादुर रोकाया नयाँ अनुहार हुन् । 

हुम्लाबाट दल फडेरा निर्वाचनमा भाग लिँदै छन् । उनी गत प्रदेशसभा निर्वाचनमा हुम्ला १ (क) बाट माओवादी उम्मेदवार रणसिंह परियारसँग पराजित भएका थिए । डोल्पामा जिल्ला अध्यक्ष लंकबहादुर रोकाया उम्मेदवार बनेका छन् । 

दैलेखमा पनि पुरानै नेताहरु उम्मेदवार बनेका छन् । दैलेख–१ बाट रवीन्द्रराज शर्मा र दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल उम्मेदवार बनेको एमालेले जनाएको छ । शर्मा गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा साविक एकीकृत समाजवादीका अम्मरबहादुर थापासँग पराजित भएका थिए भने पोखरेलले कांग्रेस उम्मेदवार दिक्पालकुमार शाहीसँग चुनाव हारेका थिए ।

त्यस्तै जाजरकोटबाट एमालेको उम्मेदवार बनेका डम्मरबहादुर सिंह गत प्रदेशसभा निर्वाचनमा कांग्रेस उम्मेदवार वेदराज सिंहसँग पराजित भएका थिए । 

प्रत्यक्ष निर्वाचन हुने देशभरका १६५ क्षेत्रका लागि मंगलबार मनोनयन पत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully