जिल्लामा क्रियाशील प्राय: सबै दलका प्रमुख तथा प्रतिनिधिहरूले विगतका निर्वाचनमा भए–गरेका असल अभ्यासको अनुसरण र निरन्तरता तथा गल्ती–कमजोरीबाट सिक्दै चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न लाग्ने प्रतिबद्धता जनाएका छन् ।
What you should know
रुकुम पश्चिम — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सफलतासाथ सम्पन्न गराउनका लागि जिल्लास्थित सरोकारवालाले साझा प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा यहाँ क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले चुनावलाई उत्सवका रूपमा लिएर अघि बढ्ने बताएका हुन् ।
जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित ‘आसन्न निर्वाचनसम्बन्धी सरोकारवालाको अन्तरक्रिया कार्यक्रम’मा आ–आफ्ना धारणा राख्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा लगायत दलका प्रमुख तथा प्रतिनिधिहरूले विगतका निर्वाचनमा भए–गरेका असल अभ्यासको अनुसरण र निरन्तरता तथा गल्ती–कमजोरीबाट सिक्दै चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न लाग्ने जनाएका छन् ।
कांग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले यसअघिका निर्वाचनमा केही तीता–मिठा अनुभव भएको भन्दै यसपल्ट त्यसो हुन नहुने कुरामा जोड दिए । एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले यसपल्टको निर्वाचन निर्धारित समयभन्दा चाँडै हुन लागेको भए पनि यो एक नियमित प्रक्रिया भएको भन्दै यसलाई सबैले सामान्य रूपमा लिएर दल र उम्मेदवारका बीचको आपसी सहिष्णुता कायम गरेर जानुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका नेता वसन्त शर्माले चुनावमा हुन सक्ने भड्किलो खर्च र तामझामलाई कम गर्न सबै दल र उम्मेदवारको भूमिका हुने भन्दै सम्बन्धित निकायले आचारसंहिताको परिपालना र कार्यान्वयनमा कडाइ गर्नुपर्ने मत राखे । रास्वपाका जिल्ला सभापति मानबहादुर शाहीले निर्वाचन सफल बनाउने प्रतिबद्धतासँगै फर्जी मत खस्न सक्ने कुरामा सचेत गराउँदै अनुगमनको पाटोलाई जोड दिनुपर्ने बताए ।
यसरी विभिन्न दलका तर्फबाट प्रतिबद्धता आएपछि कार्यक्रममा सहभागी मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी र त्रिवेणी गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूले पनि निर्वाचनलाई सफल बनाउन स्थानीय सरकारका तर्फबाट सकेको साथ–सहयोग गर्ने वचन दिए ।
कार्यक्रममा आफ्ना कुरा राख्दै जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापा मगरले चुनावी आचारसंहिता एक औजार मात्रै भएको भन्दै यसको सही प्रयोग गरेर परिणाम निकाल्नुपर्ने कुरामा सरोकारवाला सबैको समान जिम्मेवारी भएको बताए । ‘समयक्रमको विकाससँगै निर्वाचन सम्पन्न गराउनका लागि नयाँ–नयाँ अवसर र चुनौती दुवै आएका छन् । अवसरको सदुपयोग र चुनौतीको सामना गरेर जाने कुरामा हामी सबै तयार रहन आवश्यक छ,’ उनले भने, ‘यसका लागि आज यहाँहरूले गर्नुभएको प्रतिबद्धता कार्यान्वयन हुने कुरामा म विश्वस्त छु ।’
एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा यसपल्टको निर्वाचनमा जम्मा ७६ मतदान स्थल र १ सय ४० मतदान केन्द्र रहने जानकारी जिल्ला निर्वाचन कार्यालयका प्रमुख मोहनलाल केसीले गराए । उनका अनुसार यस जिल्लामा यसपल्टको निर्वाचनमा कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेका छन् ।
