पारिवारिक विवादमा श्रीमतीको हत्या

श्रीमान् गणेशबहादुरले टाउको र हातमा सनासोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

माघ ३, २०८२

महेश केसी

Wife murdered over family dispute

रुकुम पश्चिम — रुकुम पश्चिममा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फाको हत्या गरेको प्रहरीले जनाएको छ ।

पारिवारिक विवादका कारण गणेशबहादुरले श्रीमतीलाई टाउको र हातमा सनासोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए ।

घाइते अवस्थामा पम्फाको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । शुक्रबार अपराह्न साढे ४ बजेतिर परिवारले उपचारका जिल्ला अस्पताल सल्ले ल्याएको र थप उपचारका लागि शुक्रबार बेलुकी नै नेपालगन्ज पठाइएकामा ८ बजेतिर बाटोमै ज्यान गएको हो ।

हत्यामा संलग्न गणेशलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरू गरिएको र पम्फाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको प्रहरीले जनाएको छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully