रास्कोटले एसईई केन्द्र चक्रीय प्रणालीमा संचालन गर्ने

चार वटा मावि रहेको रास्कोटमा यसअघि बडिमालिका मावि स्युना र मोतीराम मावि सिप्खानामा मात्र एसईई केन्द्र रहँदै आएकोमा यस वर्षदेखि चक्रीय प्रणालीमा संचालन गर्ने निर्णय गरिएको नगरप्रमुख धर्मराज शाहीले बताए।

माघ ३, २०८२

तुलाराम पाण्डे

Raskot to operate SEE center on a cyclical system

What you should know

कालीकोट — माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित बनाउन रास्कोट नगरपालिकाले यस वर्षदेखि परीक्षा केन्द्रलाई चक्रीय प्रणालीमा संचालन गर्न जिल्ला परीक्षा समितिलाई सिफारिस गरेको छ ।

चार वटा मावि रहेको रास्कोटमा यसअघि बडिमालिका मावि स्युना र मोतीराम मावि सिप्खानामा मात्र एसईई केन्द्र रहँदै आएकोमा यस वर्षदेखि चक्रीय प्रणालीमा संचालन गर्ने निर्णय गरिएको नगरप्रमुख धर्मराज शाहीले बताए। 

संघीयताको मर्मअनुसार अधिकार नपाएका विद्यालयमा परीक्षा संचालनको अधिकार दिएर जिम्मेवार बनाउन यस्तो निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ। उनले रास्कोटका ४ वटै माविमा परीक्षा केन्द्र संचालन गर्न फर्निचर, खानेपानी, शौचालय, घेरबारको व्यवस्थापन भएकाले सहजै संचालन गर्न सकिने जानकारी दिए । 

रास्कोट नगरपालिकाले यस वर्ष पहिले परीक्षा केन्द्र संचालन हुँदै आएको बडिमालिका मावि र मोतिराम माविको सट्टा कालाशिल्ला मावि गोर्खाली गाउँ र जनजागृति मावि फूकोटमा परीक्षा केन्द्र संचालन गर्ने निर्णय गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए। 

उनका अनुसार ०८२ मा जनजागृति माविमा बडिमालिका र कालाशिल्ला माविका विद्यार्थी र कालाशिल्ला माविमा जनजागृति र मोतीराम माविका विद्यार्थीले परीक्षा दिने छन् । ०८३ मा बडिमालिका माविमा जनजागृति र मोतिरामका विद्यार्थी र मोतिराममा बडिमालिका र कालाशिल्ला माविका विद्यार्थीले परीक्षा दिने छन् । 

परीक्षा केन्द्र अन्यत्र लैजाने निर्णयको बडिमालिका माविका अभिाभवकले भने विरोध गरेका छन्। जिल्लाकै जेठो माविको परीक्षा केन्द्र अन्यत्र लैजाने कुरा मान्य नहुने अभिभावक विमल शाहीले बताए। नगरप्रमुख धर्मराज शाही र उपप्रमुख मनिराज बरालले आफ्नो गाउँका विद्यालयमा परीक्षा संचालन गर्न चक्रीय प्रणाली भनेर षड्यन्त्र गरेको उनले आरोप लगाए।   

रास्कोट नगरपालिकाले एसइईलाई मर्यादित र नतिजा सुधार गर्न ४ वटै माविमा आवासीय सुविधासहित अतिरिक्त कक्षा संचालन गर्दै आएको छ। रास्कोट नगरपालिकाबाट यो वर्ष ३ सय ७ जना एसइई दिने विद्यार्थी छन् ।

एसईईको केन्द्र निर्धारण मापदण्ड अनुसार भौतिक पूर्वाधारसहित फर्निचर, खानेपानी, घेरबार भएको हुनुपर्ने भएकाले रास्कोट नगरपालिकाका सबै विद्यालयमा मापदण्ड पुग्ने हुँदा नगरको सिफारिसअनुसार केन्द्र निर्धारण हुने शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईले बताए। उनका अनुसार साधारण र प्राविधिधार गरी यसपटक कालीकोटबाट ३ हजार ७ सय २० जना परीक्षार्थी छन् ।  

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully