रास्कोटले सवारी प्रवेश कर हटायो, पशुपन्छी उपचार शुल्क बढायो

कृषि र पशुपालनका लागि उपयुक्त हावापानी भएको रास्कोट नगरपालिकाले पशुपन्छी सेवा शुल्क भने थप गर्ने निर्णय गरेको छ।

माघ २, २०८२

तुलाराम पाण्डे

Raskot removes vehicle entry tax, increases animal treatment fees

What you should know

कालीकोट — रास्कोट नगरपालिकाको १७ औं हिउँदे नगरसभाले ३ वर्षदेखि लिँदै आएको सडक सेवा शुल्क (पट्के सवारी कर) हटाउने निर्णय गरेको छ।

रास्कोट नगरपालिकाले सान्नीगाडदेखि रास्कोट जाने सवारी साधनबाट रकम उठाउँदै आएको थियो। ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणमार्फत बनेको सान्नीगाड–आरसीपी सेराचौर १८ किलोमिटर सडक खण्डमा चल्ने गाडीबाट नगरपालिकाले सवारी कर उठाउने गरेको गुनासो जिल्ला प्रशासन हुँदै गृह मन्त्रालयसम्म पुगेको थियो।

नगरवासी तथा विभिन्न क्षेत्रका बुद्धिजीवी, राजनीतिकर्मीको सुझावअनुसार नगरपालिकाको आर्थिक ऐन २०८२ को अनुसूची ३ अर्न्तगत सवारी साधन प्रवेश कर हटाउने निर्णय गरिएको नगरप्रमुख धर्मराज शाहीले बताए।

नगरपालिकाले ठूला बस प्रतिदिन २५० र व्यवसायिक जीपवापत १५० सडक शूल्क लिने गरेको थियो । नगरपालिकाको आन्तरिक आम्दानी भइरहे पनि सबैतिरबाट गुनासो आएकाले हटाउने निर्णय गरिएको उनले बताए। उनले हालसम्मको बजेट र खर्चको समीक्षा गर्दै उत्पादनमूलक र रोजगारमूलक कार्यक्रमलाई प्रोत्साहन गर्ने निर्णय भएको जानकारी दिए ।

उनकाअनुसार  हिउँदे नगरसभाबाट पशुपन्छी उपचार तथा बन्ध्याकरण वापत शुल्क निर्धारण गरिएको, रास्कोटलाई डिजिटल पालिका घोषणा अभियानलाई स्वीकृत गरिएको छ । गत मंसिर ८ गतेबाट पालिकाका सबै कर्मचारीको डिजिटल हाजिरी सुरु गरेको रास्कोटले एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली पनि सुरु गरेको छ।

कृषि र पशुपालनका लागि उपयुक्त हावापानी भएको रास्कोट नगरपालिकाले पशुपन्छी सेवा शुल्क थप गर्ने निर्णय गरेको छ। पशु शाखाको प्रस्तावमा नगरपालिकाले आन्तरिक राजश्व सुधारका लागि भन्दै पशु बन्ध्याकरण, घाउ ड्रेसिङ, पशुको बच्चा अड्केको, थुनेल परीक्षणलगायतका शीर्षकमा शुल्क निर्धारण गरेको हो।

नगरपालिका कार्यालयका अनुसार प्रति बोका बन्ध्याकरणको ५०, राँगा र साँढेको १००, कुकुर र विरालो बन्ध्याकरण वापत २ सय ५०, घोडा र खच्चड ५ सय, सुगुर र बंगुर बन्ध्याकरण वापत ३ सय ५० शुल्क लाग्ने छ।

त्यस्तै, राँगाभैंसीको घाउ ड्रेसिंङको ३ सय ५०, गाईगोरुको २ सय ५०, बंगुरसुगुर २ सय, कुकुरविरालो २ सय, भेडा बाख्रा १ सय, जंगली जनावरको ५ सय, सबैखाले जंगली पन्छीको ५०, सबैखाले घरपालुवा पन्छीको २० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै, भैंसीको पाडापाडी अड्केको निकाल्न १ हजार ५ सय, गाईको ५ सय, भेडा बाख्राको ४ सय शुल्क लिने उल्लेख छ।

पालिकाले गाईभैंसीको गोबर परीक्षण गर्न ५०, भेडा बाख्राको २०, सुगुरबंगुर ३०, सबैखाले पन्छीको गोबर परीक्षण वापत १० रुपैयाँ दस्तुर तोकिएको छ।

नगरसभाले गाईभैंसी, राँगा, भेडा, बाख्रा, कुकुर, विरालो, सुगुर बंगुर, पन्छीलगायतको नमूना परीक्षणको पनि न्यूनतम १० देखि अधिकतम २ सय ५० रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । रास्कोट नगरपालिकामा दुई वटा व्यवसायिक कालिज फर्म छन् भने सबै वडामा घरपालुवा पशुपन्छी छन् ।

कृषकलाई निःशुल्क सेवा दिनुपर्ने नगरपालिकाले चर्को शुल्क निर्धारण गरेको कृषक जय तिरुवाले बताए । ‘गाउँमा उसै त सेवा पाउन मुस्किल नै छ । त्यसैमा चर्को शुल्क लगाएर मर्का पर्यो,’ उनले भने । नगरले कृषकलाई प्रोत्साहन गर्न शुल्क मिनाहा गर्नुपर्ने नीति बनाउनु पर्नेमा शुल्क लगाएर पशुपालक कृषकलाई निरुत्साहित पारेको एमाले नेता दयाराम सिम्खाडा बताउँछन्। 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully