कालीकोट जिप दुर्घटना : मृतकको सनाखत, चालक सकुशल भेटिए

सेरी पान्तडी सडक खण्डअर्न्तगत शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी भएको जीप दुर्घटनाका मृतकको सनाखत भएको हो ।

माघ २, २०८२

तुलाराम पाण्डे

Kalikot jeep accident: The deceased has been identified, the driver has been found safe.

कालिकोट — सेरी पान्तडी सडक खण्डअर्न्तगत शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी भएको जीप दुर्घटनाका मृतकको सनाखत भएको छ ।

शुक्रबार राति ६ बजे सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा घटनास्थलमा मृत्यु भएका दुई जना एक्स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् । उनीहरु तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए । 

'भीरबाट तीन वटै शव निकालेर सडकका ल्याएका छौँ,' डिएसपी खत्रीले भने, 'पोस्टमार्टमका लागि आफन्त बोलाएर सदरमुकाम लैजाने तयारी भएको छ । गाडी सडकबाट ५ सय मिटर तल तिला नदीको किनारामा टुक्रा टुक्रा भएको अवस्थामा छ । जिप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी छ,' डीएसपी खत्रीले भने । 

दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रजिअ गोर्कणराज सुयल, डीएसपी खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully