अहिलेको निर्वाचन आचारसंहिता सजायमुखी छ: मुख्य निर्वाचन अधिकृत पन्त

मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ ४ गते राजनीतिक दलहरुसँग बसेर आचारसंहिता पालनादेखि मनोनयन दर्तालगायतका विषयमा छलफल गर्ने समय तोकेको छ ।

माघ २, २०८२

डीबी बुढा

Current election code of conduct is punitive: Chief Electoral Officer Panta

जुम्ला — जुम्लाका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले अहिलेको निर्वाचन आचारसंहिता सजायमुखी भएको बताएका छन् ।

उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न र निर्वाचनलाई भयरहित बनाउनुपर्नेमा जोड दिए। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत पन्तले पहिलेको जस्तो आचारसंहिता नभइ यो आचारसंहिता सजायमुखी भएकोले सबैले पूर्णपालना गर्न आग्रह गरे । 

उनले सबै तहका निकाय, व्यक्ति र संस्थाले आचारसंहिता पालना गरे/नगरेको कडाइ साथ अनुगमन हुने समेत बताए । ‘सुरक्षितपूर्वक मतदान गर्न पाउनु मतदाताको अधिकार हो । यो अधिकार सुनिश्चित गर्ने दायित्व हाम्रो हो, हामी यसमा प्रतिबद्ध छौं । तपाईहरु पनि भइदिनुहोला,’ उनले भने ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचन अधिकृतको कार्यालय र मातहतमा खटिएका स्थानीय, प्रदेश सरकार र सुरक्षा निकायको जिम्मेवारी भएको उनले बताए।  

अब मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता गर्दा विचार पुर्‍याउनुपर्ने रितहरु, सामेल गर्नुपर्ने कागजातदेखि कुन राजनीतिक दल कुन समयमा मनोनयन दर्ता गर्न आउने भन्ने विषयमा छलफल थाल्ने उनले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ ४ गते राजनीतिक दलहरुसँग बसेर आचारसंहिता पालनादेखि मनोनयन दर्तालगायतका विषयमा छलफल गर्ने समय तोकेको छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully