गोठमा आगलागी हुँदा ४५ भेडा मरे, धनी जलेर घाइते

माघे संक्रान्तिको राति खाना पकाउने क्रममा गोठमा आगलागी हुँदा भेडाधनी कृष्णलाल घाइते भएको र उनका ५५ मध्ये ४५ वटा भेडा मरेको कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए।

माघ २, २०८२

तुलाराम पाण्डे

45 sheep die in barn fire, rich man injured

What you should know

कालीकोट — बिहीबार राति कालीकोटको पलाता–४ रिज्यूलेखस्थित भेडीगोठमा आगलागी हुँदा ४५ भेडा मरेका छन् । आगलागीमा परी भेडाधनी घाइते भएका छन् ।

राति ८ बजेतिर पलाता–३ का ४९ वर्षीय कृष्णलाल रोकायाको गोठमा आगलागी भएको हो। कृष्णलालले गएको मंसिरदेखि वनमा चराउन लगिएका भेडा स्थानीय कुम्भ बुढाको खरले छाएको गोठमा राख्दै आएका थिए ।

माघे संक्रान्तिको राति खाना पकाउने क्रममा गोठमा आगलागी हुँदा भेडाधनी कृष्णलाल जलेर घाइते भएको र उनका ५५ मध्ये ४५ वटा भेडा मरेको कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए। ‘खरले छाएको सल्किएको आगो निभाउन खोज्दा भेडाधनी रोकाया घाइते भएका छन्,’ डिएसपी खत्रीले भने।

उनका दुवै खुट्टा र ढाड जलेको भए पनि अवस्था खतरामुक्त छ । गाउँमै प्राथमिक उपचारपछि धौलागोह स्वास्थ्य चौकी लगिएको छ। आगलागीमा घाइते भएका रोकायाका १९ वर्षीय छोरा धीरेन्द्र साथमा भए पनि उनी बाहिर निस्कन सफल भएकाले सकुशल छन्।

उनले गाउँमा खबर गरेपछि राति गोठबाट ३ घण्टा टाढा रहेको कहरदेव अस्थायी प्रहरी चौकीबाट दुई प्रहरी र स्थानीय घटनास्थल गएको प्रहरी हवलदार बसन्त भण्डारीले बताए। उनले गोठमा रहेका ४५ भेडा जलेर मरेको, १० वटा भेडा सामान्य घाइते भएको र लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएको जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट कहरदेवबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाइरहेको डिएसपी खत्रीले जानकारी दिए। घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट २१ कोश टाढा पर्छ।

मुगुसँग सिामना जोडिएको पलाता पुग्न मान्मबाट गाडीबाट घाटपारि चौरसम्म ७ घण्टा यात्रा गरेपछि थिर्पू, धौलागोह हुँदै खीन पुग्न थप ६ घण्टा पैदल हिँड्नु पर्छ । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully