खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका प्रमुख संजिव कुमार साहका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब १४ प्रतिशत पुगेको छ ।
What you should know
वीरेन्द्रनगर — कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले भेरी पम्पिङ आयोजनाको अनुगमन गरेकी छन् । मन्त्री बुढाले बुधवार आयोजनाको स्थलगत अनुगमन गरेकी हुन् ।
सन् २०५० सम्म वीरेन्द्रनगरमा हुनसक्ने जनसङ्ख्या वृद्धिलाई मध्यनजर गर्दै अघि बढाइएको उक्त आयोजनाको प्रगति अवस्थाबारे मन्त्री बुढाले अनुगमन गरिन् ।
अनुगमनको क्रममा आयोजनाको भौतिक प्रगति १४ प्रतिशत भएको जानकारी पाएको उनले बताइन् ।
आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेकोप्रति प्रशंसा गर्दै मन्त्री बुढाले यही रफ्तारमा कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । तोकिएको समयमै आयोजना सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई निर्देशन पनि दिइन् ।
आयोजनामा संघीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयको ८० प्रतिशत, कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको १४ प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ७ प्रतिशत लगानी छ ।
आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी सिन्ज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसन ले गरिरहेको छ ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका प्रमुख संजिव कुमार साहका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब १४ प्रतिशत पुगेको छ ।
आयोजनाको पहिलो चरणमा तीन अर्ब पाँच करोड आठ लाख १५ हजार रुपैयाँ लागतमा काम भइरहेको छ । भेरी नदीबाट करिब सात किलोमिटर दूरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माणको काम भइरहेको छ ।
भेरी पम्पिङ आयोजना सन् २०२७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । भेरी नदीको पानी पम्पिङ प्रविधिबाट राजधानी वीरेन्द्रनगरमा ल्याइनेछ ।
अनुगमनमा मन्त्रालयका सचिव डा. योगेन्द्र मिश्रलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यसअघि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा आयोजनाको अनुगमन गरेका थिए। त्यस क्रममा कँडेल र नगरप्रमुख ढकालले आयोजना लक्ष्य अनुसार तीव्र गतिमा अघि बढेको प्रति खुसी व्यक्त गरे । यसलाई निरन्तरता दिनुपर्ने बताए ।
