जिल्ला प्रहरी प्रमुख डिएसपी रबिनबाबु रेग्मीका अनुसार ६ सय ५८ जना महिला र ११ सय ६० जना पुरुषले दरखास्त दिएका छन् ।
जुम्ला — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा मागेको भन्दा दोब्बर संख्याले निर्वाचन प्रहरीमा दरखास्त दिएका छन्।
कोटा अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गरेर ९ सय ७४ जना निर्वाचन प्रहरी संख्या आवश्यक पर्छ। तर यहाँ १ हजार ८ सय १८ जनाले निर्वाचन प्रहरीमा दरखास्त दिएका छन्। जिल्लामा ८ सय ७८ जना नेपाल प्रहरी र ९६ जना सशस्त्र प्रहरीले निर्वाचन प्रहरी भर्ना गर्न पाउने कोटा तोकिएको थियो।
जिल्ला प्रहरी प्रमुख डिएसपी रबिनबाबु रेग्मीका अनुसार ६ सय ५८ जना महिला र ११ सय ६० जना पुरुषले दरखास्त दिएका छन् । यो पटक जाडो बिदा र व्यापारका सिलसिलामा कतिपय युवा कालापहाड झरेकोले संख्या घटेको उनले बताए।
निर्वाचन प्रहरीमा भर्ना हुने अधिकांश आवदेकहरु २५ देखि ३५ वर्ष उमेर समूहका छन् । कोटा भन्दा कम दरखास्त परेका जिल्लामा दुई दिन थप भए पनि जुम्लाका लागि म्याद थपेर दरखास्त दिनुपर्ने अवस्था नरहेको उनले बताए। उनका अनुसार माघ ५ देखि छनौट सुरु हुने छ ।
त्यसपछि लिखित र मौखिक गरेर माघ ९ गतेसम्म छनौट सक्नुपर्ने तालिका बनेको छ । निर्वाचन प्रहरीमा पहिलेका निर्वाचनमा भाग लिएका म्याद प्रहरीदेखि भूतपूर्व प्रहरीसम्मले दरखास्त दिएका छन् ।
