युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहितको प्रतिनिधि मण्डलसँग मंगलबार सुर्खेतमा छलफल गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रतियोगितको मिति तोकेर मात्र नहुने भन्दै आफ्नातर्फबाट तयारी गर्न पनि सुझाव दिएका हुन् ।
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले आफ्नो पूर्वतयारी नगरेको बताएका छन् ।
संघीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहितको प्रतिनिधि मण्डलसँग मंगलबार सुर्खेतमा भएको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगितको मिति मात्र तोकेर नहुने भन्दै आफ्नातर्फबाट त्यसको तयारी गर्न पनि सुझाव दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन सरकारले पूर्ण सहयोग गर्ने बताए ।
छलफलमा मुख्यमन्त्री कँडेलले पटक-पटक मिति तोक्ने संघीय सरकारले अहिलेसम्म तयारी नगरेकामा असन्तुष्टि पनि जनाए । उनले भने, ‘तपाईंहरू खेलकुद खेलाउने गरी आउनुस्, हाम्रा तर्फबाट पूर्ण सहयोग रहन्छ, तर पटक-पटक मिति तोकेर झुक्याउने काम नगर्नूस् ।’
मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामग्रीसमेत खरिद नगरेकाले फागुनमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्नसमेत गरेका थिए । उनले भने, ‘अहिलेसम्म खेलका लागि चाहिने सामान खरिद प्रक्रियासमेत गर्नु भएको रहेनछ, एक महिनामा कसरी खेल खेलाउने गरी तयारी गर्नुहुन्छ ?’ मुख्यमन्त्री कँडेलले कर्णालीमा खेल उद्घाटन गरेर अन्त खेलाउने काम प्रदेश सरकारले स्वीकार नगर्ने बताए ।
मुख्यमन्त्री कँडेलले पटक-पटक मिति तोकेर खेल नगराउने तर प्रदेश सरकारको जिम्मा छोड्ने कामप्रति पनि असन्तुष्टि जनाए । उनले भने, ‘तपाईंहरूका कारणले प्रतियोगितको मिति सरिरहेको छ, जनतालाई ढाँट्ने काम नगर्नूस् ।’
