वडाध्यक्ष चन्दले सतिपोलेका स्थानीयसँग वार्ता–संवाद गरेर समस्या समाधान गर्नका लागि गत शुक्रबार नगर उप–प्रमुख विमलकुमार पुनको संयोजकत्वमा वार्ता समिति गठन भएको जानकारी दिँदै अब तत्काल समस्याको निकास खोज्नका लागि पहल गर्ने बताए ।
What you should know
रुकुम पश्चिम — मुसिकोट नगरपालिकाको मुख्य बजार क्षेत्र सल्ले, खलंगा, बागबजार र सेरिगाउँबाट जम्मा हुने फोहोर फाल्न मुसिकोट–२ सतिपोले र आसपासका स्थानीयले अवरोध गरेका छन् । स्थानीयको अवरोधपछि बजारका घर–घरमा फोहोर थुप्रिँदै जान थालेको छ ।
गत पुस २१ गतेबाट फोहोर फाल्न नदिने भन्दै त्यहाँसम्म जाने बाटो नै भत्काइदिएको स्थानीय रमेश खड्काले बताए ।
‘विगत १३ वर्षदेखि यहाँ बजारको फोहोर फाल्न लागिएको हो । हामीले पटक–पटक यसो नगर्न अनुरोध गर्यौं तर सुनुवाइ नै भएन । हरेक दिन ट्रकका ट्रक फोहोर ल्याएर फाल्ने र जलाउने गर्नाले गाउँ नै दुर्गन्धित भयो । यसकारण अवरोध गरेका हौं,’ उनले भने, ‘विगतमा विभिन्न बहाना–बाजी गरेर फोहोर फालियो तर अब हामी कुनै पनि हालतमा यसो हुन दिन्नौं । यसको विकल्प नगरपालिकाले खोज्नैपर्छ ।’
हाल फोहोर फालिरहेको स्थानलाई जीप पार्क बनाउने भनेर डीपीआर गरिएको स्मरण गर्दै खड्काले योजनाअनुसारको काम हुनुपर्ने समेत माग गरे ।
स्थानीयको अवरोधपश्चात् विगत आठ दिनदेखि बजारको फोहोर उठ्न सकेको छैन । जसका कारण मुस्किल परिरहेको खलंगा बजारका व्यवसायी शिव श्रेष्ठले बताए । ‘फोहोर लिने गाडी नै आउन छोड्यो । फोहोर फाल्न रोकेका कारण यस्तो भएको भन्ने सुनिएको छ । भए–भरको फोहोरजति घरमै थुपारेका छौं,’ उनले भने ।
मुसिकोट–१ का वडाध्यक्ष ज्ञानु चन्दले १ नम्बर वडाकै निपानेमा डम्पिङ साइट बनाउने गरी काम अघि बढेको तर त्यहाँ पर्याप्त जग्गा नहुँदा पूर्णता नपाएको बताए । ‘निपानेमा यसका लागि केही काम पनि भएको छ । तर त्यसले पनि पूर्णता पाउन सकेको छैन । थप जग्गा खरिद गर्ने र कामलाई पूर्णता दिएर समस्याको दिगो समाधान गर्ने गरी प्रयास गरिरहेका छौं,’ उनले भने ।
वडाध्यक्ष चन्दले सतिपोलेका स्थानीयसँग वार्ता–संवाद गरेर समस्या समाधान गर्नका लागि गत शुक्रबार नगर उप–प्रमुख विमलकुमार पुनको संयोजकत्वमा वार्ता समिति गठन भएको जानकारी दिँदै अब तत्काल समस्याको निकास खोज्नका लागि पहल गर्ने बताए ।
उता सरकारले वर्ता समिति गठन गरेको भए पनि आफूहरू कुनै पनि सर्तमा फोहोर फाल्न नदिने अडानमा रहेको सतिपोलेका स्थानीयको भनाइ छ ।
