मतदानस्थलको धमाधम अनुगमन गर्न थालेपछि गाउँबस्तीमा निर्वाचनको माहोल समेत बढ्दै गइरहेको छ।
What you should know
जुम्ला — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा तोकिएका मतदानस्थलको अनुगमन तीब्र पारिएको छ।
मतदानस्थलको भौगोलिक अवस्था र सुरक्षा चुनौतिको अध्ययन गर्न थालिएको हो। जिल्ला सुरक्षा समितिको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा अहिले मतदानस्थलहरुको अनुगमन भइरहेको छ।
टोलीमा सशस्त्र प्रहरी बलका एसपी निलकमल आचार्य, जिल्ला प्रहरी जुम्लाका प्रमुख डिएसपी रबिनबाबु रेग्मी र निर्वाचन कार्यालय जुम्लाका निमित्त प्रमुख नारायणी चौलागाई रहेका छन् । जिल्लाका आठ स्थानीय तहका सबै मतदानस्थलको अनुगमन गरिने निर्वाचन कार्यालयले जनाएको छ।
भौगोलिक रुपमा विकट र सुरक्षा चुनौति देखिएका मतदानस्थलहरुमा प्राथमिकताका साथ अनुगमन गरिएको छ। मतदानस्थलको धमाधम अनुगमन गर्न थालेपछि गाउँबस्तीमा निर्वाचनको माहोल समेत बढ्दै गइरहेको छ।
हाल जुम्लामा २ अस्थायीसहित ८५ मतदानस्थल छन्। ११० मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयको भनाइ छ । टोलीले मतदानस्थलको वर्गीकरण गरेर सुरक्षा योजना बनाउने छ । डिएसपी रेग्मीका अनुसार जिल्लाका ५२ वटा मतदानस्थल अति संवेदनशील छन्। १८ वटा मतदानस्थल संवेदनशील र १५ वटा मतदानस्थल सामान्य रहेका छन्।
जुम्लामा ७१ हजार ७ सय ३९ मतदाता छन्। जसमा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष मतदाता छन्। हिउँदमा चिसो छल्न र व्यापार तथा रोजगारीका सिलसिलामा अधिकांश मानिसहरु कालपहाड तथा तराइ झरेकोले कम मत खस्ने देखिएको छ।
जुम्लामा कांग्रेस, एमाले, नेपाली कम्यूनिष्ट पार्टी, रास्वपा, राप्रपा, नेकपा माओवादी र नेमकिपाको उम्मेदवारी रहने सम्भावना देखिएको छ।
जुम्ली मतदाताले हालसम्म सांसद दोहार्योएका छैनन्। यो पटक राप्रपाका ज्ञानेन्द्र शाही र नेकपाका नरेश भण्डारीले सांसद दोहोर्याउने दाउ खोजिरहेका छन्।
निर्वाचन आयोगले पुस २५ गतेदेखि लागु हुने गरी प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ५ बमोजिम न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको छ। सोही बमोजिम न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको छ ।
