बन्गाड नगर अस्पताल भवन निर्माण ६ महिनादेखि ठप्प

गत असारमा केही रकम भुक्तानी लिएर गएका निर्माण व्यवसायीले बेवास्ता गर्दा भवन निर्माणको काम रोकिएको हो।

पुस २८, २०८२

विप्लव महर्जन

Construction of Banga Nagar Hospital building stalled for 6 months

What you should know

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रामा १५ शय्याको अस्पातल भवन निर्माणको काम ६ महिनादेखि रोकिएको छ।

गत असारमा केही रकम भुक्तानी लिएर गएका निर्माण व्यवसायीले बेवास्ता गर्दा भवन निर्माणको काम रोकिएको हो।

नगरपालिकाले २०७९ मा टेन्डर आहवान गरेर २०८० भदौमा भवन निर्माणको काम सुरु गरेको थियो। दुई वर्षमा सम्पन्न गर्ने गरी ग्राईन्ड डिजाईन एण्ड कन्ट्रक्सन बाँकेले ११ करोड ११ लाखमा भवन निर्माणको जिम्मेवारी पाएको थियो।

ठेकेदारले दुई वर्षको अवधि २०८२ भदौमा दुई तले भवनको  काम सम्पन्न गर्न नसकेपछि नगरपालिकाले यही पुससम्मका लागि ६ महिना म्याद थप गरेको थियो। पालिकाले थपेको म्याद सकिन लाग्दा पनि निर्माण कम्पनीले काम गरेको छैन। 

ठेकेदारले गरेको लापरवाहीका कारण थपिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेको र पटक पटक ताकेता गरे पनि विभिन्न बहाना बनाई ढिलासुस्ती गरिरहेको बन्गाड कुपिण्डे नगरपालिकाका उपप्रमुख पुरुषोत्तम आचार्यले बताए। गत असारमा केही काम गरेर भुक्तानी लिएर घर गएका ठेकेदार अहिलेसम्म निर्माणको काममा नफर्केको उनले जानकारी दिए। 

उनका अनुसार ठेकेदारले ४/६ जना मजदुर ल्याएर अहिले झारा टार्ने मात्र काम गरेको छ । भवन निर्माणको काम सम्पन्न नहुँदा नगर अस्पताल पालिका र स्वास्थ्य चौकीको पुरानो भवन प्रयोग गरेर संचालन गर्न बाध्य भएको उनले बताए।  

ठेकेदारले दुई तले अस्पताल भवनको काम दुई वर्षको अवधिमा सक्नु पर्नेमा अहिलेसम्म ५५ प्रतिशत मात्र भएको बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले बताए। पालिकाले ताकेता गर्दै आए पनि काममा खासै चासो नदेखाएको बताए। ‘समयमै काम हुन नसकेपछि पालिकाले पुससम्म ६ महिनाको लागि म्याद थपेको थियो। असारमा काम अनुसार ५५ लाख रुपैयाँ भुक्तानी लिएर गएको निर्माण कम्पनीका संचालक सागर नेपाल अहिलेसम्म काममा फर्केका छैनन्। थपेको म्याद सकिन थालेको छ । काम सम्पन्न गर्ने छाँटकाट देखिँदैन,’ उनले भने। 

नगरपालिकाका ईन्जिनियर महेश देवकोटाले निर्माण कम्पनीलाई ताकेता गर्दै आए पनि चासो नदेखाएको बताए। साउनदेखि रोकिएको काम सुचारु गर्न ठेकेदारलाई फोन मार्फत सम्पर्क गर्ने प्रयास गरिरहे पनि सम्पर्कमा नआएको उनले जानकारी दिए। 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully