लामो समयदेखि कार्यालय प्रमुख नहुँदा योजना सम्झौता, शिक्षक-कर्मचारीको तलब भत्ता निकासा लगायतका आर्थिक गतिविधि रोकिएको थियो ।
What you should know
डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा खटाइएका पुरानै प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् ।
शनिबार इकान्तिपुरमा 'कार्यालय प्रमुख नहुँदा पालिकाका काम ठप्प' शीर्षकमा समाचार प्रकाशन भएको दुई दिनमै यसअघि मन्त्रालयले खटाएर पनि स्वास्थ्य समस्याको कारण देखाउँदै जान नमानेका हरिबहादुर खत्री नै आउने भएको नगर प्रमुख जनचन्द्र रोकायले बताए।
यसअघि उनी वाणिज्य, आपूर्ती तथा उद्योग एवं उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका कार्यालय प्रमुखका रूपमा कार्यरत थिए । गत पुसमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नोखिराम वलीको सरुवा भएपछि नगरपालिका कार्यालय प्रमुखविहीन भएको थियो । उनी सरुवा भएको केही समयमा मन्त्रालयले खत्रीलाई खटाएको थियो । तर, खत्री झण्डै एक महिना पुग्दासमेत कार्यक्षेत्र डोल्पा पुगेका थिएनन् ।
आफ्नो स्वास्थ्य र घरायसी समस्याले जान नमानेको भए पनि विभिन्न निकायबाट फोन आएपछि आफू मन्त्रालयले खटाएको ठाउँमा जान तयार भएको उनले बताए । अब माघे संक्रान्ति नजिएकाले त्यसलगत्तै जाने तयारी गरेको उनको भनाइ छ ।
लामो समयदेखि कार्यालय प्रमुख नहुँदा योजना सम्झौता, शिक्षक कर्मचारीको तलब भत्ता निकासा लगायतका आर्थिक गतिविधि रोकिएको थियो । यससँगै नगरपालिकामा भएको अत्यावश्यक औषधिको व्यवस्था पनि सहज हुने भएको छ । एक महिनाका लागि सोमबार औषधि प्राप्त भएको नगर प्रमुख रोकायले बताए ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधि खरिद हुन नसकेको र अब हाकिम आउने पक्का भइसकेकाले हाकिम आएलगत्तै पर्याप्त औषधि खरिद गरिने पनि नगर प्रमुखको भनाइ थियो ।
'समाचारको राम्रो प्रभाव पर्यो,' स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरुले भने, 'समाचार प्रकाशन भएको दुई दिनमै दुई खुस खबर सुन्न पाइयो ।' थप औषधि व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारको स्वास्थ्य सामग्री व्यवस्थापन कार्यालयमा पनि माग गरिएको उनले बताए ।
