कालीकोट बाल भेलामा बालविवाह र लागुऔषधविरुद्ध अभियान संचालन गर्न सुझाव

शनिबार सुरु भएको भेलाबाट कालीकोटका बालबालिकाले भोगेका समस्या, सवाल पहिचान गरी योजना निर्माण गर्ने र जिल्ला स्तरीय नेतृत्व चयन गरिनेछ।

पुस २७, २०८२

तुलाराम पाण्डे

Kalikot Children's Gathering Suggests Campaign Against Child Marriage and Drugs

What you should know

कालीकोट — बालबालिकाको सहभागितामा सवाल पहिचान गरी योजना बनाउन र नयाँ नेतृत्व चयन गर्न सदरमुकाम मान्ममा जिल्ला स्तरीय बाल भेला आयोजना गरिएको छ ।

सशक्त बालिका परियोजना अर्न्तगत शनिबार सुरु भएको भेलाबाट कालीकोटका बालबालिकाले भोगेका समस्या, सवाल पहिचान गरी योजना निर्माण गर्न र जिल्ला स्तरीय नेतृत्व चयन गरिनेछ। 

जिल्लाका ९ वटै स्थानीय तहका बाल सञ्जालका प्रतिनिधिको सहभागितामा सुरु भएको भेलामा बालबालिकाका सवाल, सरोकारवालाको भूमिका, बालबालिका सम्बन्धी बनेका ऐन कानुन, नीति निर्देशिकाबारे अभिमुखीकरण गरिने आयोजक मानवअधिकार तथा वातावरण विकास केन्द्रकी अध्यक्ष गौरीकुमारी शाहीले बताइन् । 

अहिलेका बालबालिका सामाजिक सञ्जालमा बढी सक्रिय रहेको सुनाउँदै कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले सामाजिक सञ्जालमा आउने नकारात्मक विषयवस्तुले बालबालिकाको जीवन प्रभावित हुनेतर्फ अभिभावक सचेत हुनुपर्ने बताए।

उनले कालीकोटमा बालविवाह र लागुऔषध दुर्व्यसनमा बालबालिकाको संलग्नता र प्रयोग भएको औल्याउँदै बाल सञ्जालमा आवद्ध बालबालिका अभियन्ताकोरुपमा सक्रिय हुनुपर्नेमा जोड दिए । उनले  बालविवाह कालीकोटको प्रमुख समस्या भएको चर्चा गर्दै नागरिकता बनाउन आउदा २० वर्षकी युवतीले ३ वटा बच्चा जन्माइसकेको घटना सुनाए । बालविवाहले बालबालिकाको स्वास्थ्य, शिक्षा, सामाजिकीकरणमा असर पुगेको सुनाए ।  

बालबालिका र किशोरकिशोरीको शिक्षा, चेतना, स्वास्थ्य र पोषण, यौन तथा प्रजजन् स्वास्थ्य अधिकारका सवालमा सरकारी र गैरसरकारी निकायले सहकार्य गरेर काम गर्नुपर्ने जिल्ला समन्यव समिति सदस्य धनबहादुर शाहीले बताए।

प्लान इन्टरनेशनलले काम गरेका स्थानीय तहका बालबालिकाहरुको मात्र क्षमता अभिबृद्धि गरेर नपुग्ने भएकाले सबै पालिकाका बालबालिकालाई समान अवसर प्रदान गर्न स्थानीय तह, विषयगत कार्यालय र गैरसरकारी संस्थाहरुले मिलेर काम गर्नुपर्ने सुझाव राखे।

शनिबार बालबालिकालाई मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक ललितजंग शाही, प्रजिअ सुयल, प्रहरी प्रमुख हिमवहादुर खत्रीलगायतले सहजीकरण गरेको भेलाले आइतबार घोषणा पक्र जारी गर्ने सशत्त बालिका परियोजना संयोजक पदमराज हमालले बताए।

कालीकोटमा बालविवाह, बालश्रम, जातीय विभेद, विद्यालय अनियमित उपस्थिति, अर्थपूर्ण सहभागिताको कमीलगायतका सवाल पहिचान भएको रास्कोटबाट आएकी सहभागी रोजना सार्कीले बताइन् । उनले सबै सवाल लिपिबद्ध गरेर आइतबार जिल्लाका सरोकारवालालाई बुझाउने योजना रहेको जानकारी दिइन् । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully