जुम्ला कारागारका कैदीबन्दीमा उच्च रक्तचाप र मधुमेहको समस्या

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गरेको स्वास्थ्य परीक्षणमा कैदीबन्दीमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको हो ।

पुस २७, २०८२

डीबी बुढा

High blood pressure and diabetes problems among inmates of Jumla Prison

जुम्ला — जुम्ला कारागारका कैदीबन्दीलाई उच्च रक्तचाप र मधुमेहको समस्या बढ्न थालेको छ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गरेको स्वास्थ्य परीक्षणमा कैदीबन्दीमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्ला कारागार जुम्लामा रहेका ७२ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणका क्रममा नियमित ब्यायाम गर्न र खानपानमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्। 

जनस्वास्थ्य प्रमुख किरण शर्माले ८ जनामा उच्च रक्तचाप र १२ जनामा मधुमेह देखिएको बताए । उनका अनुसार २५ जना कैदीबन्दीको मानसिक स्वास्थ्य परामर्श तथा परीक्षण गरिएको थियो। 

स्वास्थ्य परीक्षणमा प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रहरी प्रमुख रबिनबाबु रेग्मी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक कमल थानीलगायत मानसिक रोग विशेषज्ञ र जनरल फिजिसियनको टोली पुगेको थियो । 

कारागारमा ५ जना महिला पनि कैदी छन् । प्रमुख शर्माले भने ‘कैदीबन्दीमा उच्च रक्तचाप र मधुमेह सँगै डिप्रेसनको समस्या देखियो । जसका लागि मानसिक रोग विशेषज्ञले परामर्श लिनुभएको छ ।’ चिन्ता धेरै लाग्ने र राति निन्द्रा पनि नलाग्ने गरेको दुखेसो कैदीबन्दीको थियो । अलि जटिल प्रकारको रोग देखिएका बिरामीलाई अस्पतालमै लैजाने उनले बताए।

अब हरेक दुई महिनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । त्यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग चिकित्सकीय सेवाको लागि समन्वय हुने उनले बताए ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully