निर्वाचनको वातावरण बनाउन कालीकोटमा सद्भाव र्‍याली

राजनैतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको र्‍याली जेन–जी आन्दोलनपछि पहिलो पटक भएको हो।

पुस २७, २०८२

तुलाराम पाण्डे

Harmony rally in Kalikot to create an environment for elections

कालीकोट — जेन–जी आन्दोलनपछि बिथोलिएको सामाजिक सद्भाव कायम राख्न मान्ममा सद्भाव र्‍याली आयोजना गरिएको छ ।

जिल्ला प्रशासनमा शनिबार बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार आइतबार बिहान बजारमा सद्भाव र्‍याली आयोजना गरिएको हो। 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने सन्देश दिन मान्म बजारको जिरो पोइन्टदेखि योगी नरहरिनाथ चोकसम्म सदरभाव र्‍याली गरिएको प्रजिअ गोकर्णराज सुयलले बताए ।

निर्वाचनको वातावरण बनाउन सद्भाव र्‍याली उपयोगी हुने अपेक्षा गरिएको प्रजिअ सुयलले बताए। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित र भयरहित बनाउन र्‍यालीले कुँडिएका मन जोड्न सहयोग पुग्ने उनले बताए।

उनका अनुसार सबै राजनैतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको र्‍याली जेन–जी आन्दोलनपछि पहिलो पटक भएको हो। धार्मिक, सांस्कृतिक, सामाजिक एवं जातीय सद्भाव र्यालीले सबै पक्षलाई एकताबद्ध हुन सहयोगी भएको एमाले उपसचिव पवित्रकुमार शाहीले बताए। 

गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला स्तरीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरिएको सहायक प्रजिअ जनक शर्माले बताए। उनका अनुसार समितिमा जिल्ला सुरक्षा निकाय प्रमुखहरु, जिल्लास्थित सबै दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, जिल्ला वारका अध्यक्ष, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवाहरु सदस्य छन्।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully