जुम्लामा सञ्चालित एम्बुलेन्सको भाडादर तोकियो

जिल्लाभित्र कच्ची रोडमा प्रतिकिलोमिटर एक सय रुपैयाँ र पक्की सडकमा ९० रुपैयाँ भाडादर तोकिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख किरणकुमार शर्माले जानकारी दिए ।

पुस २७, २०८२

डीबी बुढा

Ambulance fares set for Jumla

What you should know

जुम्ला — प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला एम्बुलेन्स समितिले जुम्लामा सञ्चालित एम्बुलेन्सको नयाँ भाडादर निर्धारण गरेको छ ।

समितिले जिल्लाभित्र सञ्चालित एम्बुलेन्सहरूको भाडादर स्थानीय तहअनुसार फरक–फरक देखिएको भन्दै एकरूपता कायम गर्न नयाँ भाडादर तोकेको हो । बिहीबार बसेको जिल्ला एम्बुलेन्स समितिको बैठकले जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्सको भाडादर तोकेर कार्यान्वयनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सबै स्थानीय तहमा परिपत्रसमेत गरेको छ ।

समितिले चन्दननाथ नगरपालिकाभित्र ६ सय रुपैयाँ भाडादर तोकेको छ । जिल्लाभित्र कच्ची रोडमा प्रतिकिलोमिटर एक सय रुपैयाँ र पक्की सडकमा ९० रुपैयाँ भाडादर तोकिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख किरणकुमार शर्माले जानकारी दिए । उनका अनुसार बिरामी र एम्बुलेन्सलाई मर्का नपर्ने गरेर भाडादर कायम गरिएको हो । 

जुम्लादेखि सुर्खेतसम्म २० हजार रुपैयाँ र जुम्लादेखि नेपालगन्जसम्म २५ हजार रुपैयाँ एम्बुलेन्सले भाडा लिन पाउने गरेर भाडादर तोकिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै जारी भएको एम्बुलेन्स सञ्चालन निर्देशिका–२०८२ अनुसार गठित जिल्ला एम्बुलेन्स समिति जुम्लाले एम्बुलेन्सहरूको भाडा निर्धारण गरेर एकरूपता ल्याएको हो । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र स्थानीय तहहरूले सञ्चालन गरेको एम्बुलेन्सको भाडादर फरक–फरक रहेकाले बिरामीहरू मर्कामा परेको गुनासो आउने गरेको थियो,’ निमित्त प्रमुख शर्माले भने, ‘कुनै पनि बिरामीलाई मर्का नपर्ने र एम्बुलेन्सहरूको मनपरी रोक्नका लागि भाडादर तोकिएको हो ।’

जिल्लाका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आठवटा स्थानीय तहमा १७ वटा र बौद्धमार्गी सेवा समाजले सञ्चालन गरेको एउटा एम्बुलेन्स गरेर १८ वटा रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तीनवटा एम्बुलेन्स छन । गुठीचौरमा एक, पातारासीमा दुई र तातोपानी गाउँपालिकामा एउटा एम्बुलेन्स छ । 

तिला गाउँपालिकामा एक, सिंजामा दुई, कनकासुन्दरीमा दुई र हिमा गाउँपालिकामा चारवटा एम्बुलेन्स रहेका छन् । चन्दननाथ नगरपालिकामा एउटा एम्बुलेन्स र एउटा शववाहन सञ्चालनमा छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully