वासस्थानमै पुगेर राउटे समुदायलाई बाँडियो भत्ता

हरेक तीन महिनामा गाउँपालिकाले बस्तीमै पुगेर भत्ता वितरण गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत डिनायक घर्तीले बताए ।

पुस २६, २०८२

ज्योति कटुवाल

Allowances distributed to Raute community at their residence

सुर्खेत — सुर्खेतको लेकबेसी नगरपालिका-७ लमनामा बस्दै आएका राउटे समुदायले तीन महिनाको सामाजिक सुरक्षा भत्ता पाएका छन् ।  गुराँस गाउँपालिकाले शनिबार बस्तीमै पुगेर १ सय ३७ जनालाई भत्ता वितरण गरेको हो ।

गुराँस गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र लेकवेसी नगरपालिकाका प्रमुख र उपप्रमुखको टोली बस्तीमै पुगेर भत्ता वितरण गरेको हो । हरेक तीन महिनामा गाउँपालिकाले बस्तीमै पुगेर भत्ता वितरण गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत डिनायक घर्तीले बताए । उनका अनुसार तीन महिनाको प्रतिव्यक्ति १२ हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

माघी मनाउने तयारीमा रहेका राउटेलाई भत्ताले माघीको किनमेलमा सहयोग हुने उनको भनाइ छ । राउटे समुदाय गुराँस गाउँपालिका-८ का नागरिक हुन् ।

२०७५ सालमा गुराँस गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएकाले सामाजिक सुरक्षाको रकम जुन ठाउँमा बसोबास गरे पनि गुराँस गाउँपालिकाले नै वितरण गर्दै आएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully