सल्यानमा बाघको आक्रमणबाट महिलाको मृत्यु

प्रहरी र सेनाको टोलीसहित गएर खोजी गर्दा घरदेखि ५ सय मिटर पर झाडीमा शव फेला परेको जिल्ला प्रहरी सल्यानका डीएसपी हेमबहादुर केसीले बताए ।

पुस २५, २०८२

विप्लव महर्जन

Woman dies in tiger attack in Salyan

सल्यान — सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाँके राष्ट्रिय निकुन्जको सिमानामा पर्ने सल्यानको कालीमाटी गाउँपालिका–७ घुईयाबारीनजिकै पर्सेनी घरभएकी बर्ष ४२ की धनसरी रावतको दाउरा काट्न गएका बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।

रावत शुक्रबार बिहान ८ बजे घरदेखि नजिकै हरियाली सामुदायिक वनमा दाउरा काट्न गएकी थिइन् । दिउँसो साढे ३ बजेतिर बाघले आक्रमण गरी जंगलतिर घिसार्दै लगेको स्थानीयले खबर गरेका थिए।

लगत्तै प्रहरी र सेनाको टोलीसहित गएर खोजी गर्दा घरदेखि ५ सय मिटर पर झाडीमा शव फेला परेको जिल्ला प्रहरी सल्यानका डीएसपी हेमबहादुर केसीले बताए । बाघले एउटा खुट्टा खाएको अवस्थामा शव फेला परेको उनले बताए। 

बाँके राष्ट्रिय निकुन्ज नजिकै भएकाले यो जंगलमा दैनिकजसो बाघ देखिने गरेको छ। बाघको त्रासका कारण पहिलेदेखि नै एक्लै हिँड्न कठिनाई हुने कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए। 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully