निर्वाचन प्रहरीमा जुम्ली युवाको आकर्षण

निर्वाचन प्रहरीमा आवेदन दिन आएका तिला–९ का टेकेन्द्र बुढाले भने, ‘मतदानस्थलमा मतदाताको सुरक्षा त हुने नै छ । त्यो भन्दा धेरै परिवारको खाद्य सुरक्षा हुने आशाले निर्वाचन प्रहरीमा भर्ती हुन थालेका छौं ।’

पुस २५, २०८२

डीबी बुढा

Attraction of Jumli youth in the election police

What you should know

जुम्ला — तातोपानी–७ का शंकर रावतले २०७४ सालमा एसईई गरे। माथिल्लो कक्ष पढेर सरकारी जागिरे बन्ने उनको चाहना आर्थिक अभावका कारण पूरा हुन सकेन।

शुक्रबार जिल्ला प्रहरीमा आएका उनले बेरोजगार बस्नु परेकोले निर्वाचन प्रहरीमा दरखास्त दिन लागेको बताए। ‘सरकारी जागिर त खान सकिएन, केही समयका लागि भए पनि सरकारी परिश्रमिक लिने गरेर सेवामा खटिने चाहना छ,’ उनले भने,‘निर्वाचन प्रहरीमा खटिए बापत आउने रकमले घरको नुनतेल जोहो होला।’ 
पहिलो दिनमै धेरै भीड देखिएकाले आफू छनौट हुनेमा भने उनी ढुक्क हुन सकेका छैनन्। 

तिला गाउँपालिका–३ का रामबहादुर तिरुवाले २०५३ सालमा एसएलसी गरेका थिए। त्यतिबेला एसएलसी पास भएकाल अब्बल मानिन्थ्यो । तर उनले न गाउँमा रोजगारी काम पाए न निकालेर सरकारी जागिरे नै बने । परिवार पाल्न कहिले कालापहाड धाए त कहिले मजदुरी गर्न थाले।

सरकारले यो पटक फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी खोलेपछि शुक्रबार उनी पनि दरखास्त दिन जिल्ला प्रहरीमा पुगेका थिए। उनले भने, ‘हेर्दा ४० दिनको मात्रै काम छ । यही पारिश्रमिकले पनि परिवारको ठूलो समस्या हल हुने विश्वास छ ।’

तिला–९ का टेकेन्द्र बुढा बेरोजगारीले घरखर्च धान्न असहज भइरहेको अवस्थामा निर्वाचन प्रहरी एक अवसर बनेर आएको बताए । उनले भने, ‘मतदानस्थलमा मतदाताको सुरक्षा त हुने नै छ । त्यो भन्दा धेरै परिवारको खाद्य सुरक्षा हुने आशाले निर्वाचन प्रहरीमा भर्ती हुन थालेका छौं ।’  

टेकेन्द्र २०७९ को निर्वाचनमा समेत म्यादी प्रहरी बनेर मतदानस्थलमा खटिएका थिए । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिका अनुसार जिल्लामा ९ सय ७४ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । जसमा ८ सय ७८ जना नेपाल प्रहरी र ९६ जना सशस्त्र प्रहरी बलले भर्ना गर्नेछ। 

निर्वाचनको शान्ति सुरक्षा बलियो बनाउन स्थानीय युवालाई प्राथमिकतामा राख्दै भर्ना प्रक्रिया अघि बढेको प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिए। प्रहरी निरीक्षक खनालका अनुसार पहिलो दिन ५५ जनाले दरखास्त दिएका छन् । उनका अनुुसार ३५ जना पुरुष र २० महिलाले निर्वाचन प्रहरीका लागि पहिलो दिनमा दरखास्त दिएका हुन् । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully