श्रीनगरमा १७ दिने महोत्सव सुरु

महोत्सवमा विभिन्न ब्यापार प्रयोजनका लागि १ सय ४१ वटा स्टल राखिएको छ ।

पुस २५, २०८२

विप्लव महर्जन

17-day festival begins in Srinagar

सल्यान — जिल्लाको मुख्य बजार श्रीनगरमा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि १७ दिने महोत्सव सुरु भएको छ।

स्थानीय स्तरमा उत्पादित बस्तु, पर्यटन, संस्कृति तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव शुक्रबारदेखि सुरु भएको हो।

उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा भइरहेको यो महोत्सवको दोस्रो संस्करण हो। महोत्सवको उद्घाटन कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गरेका थिए।

महोत्सवलाई जिल्लाका स्थानीय तहहरुले समेत सहयोग गरेका छन्। उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विरेन्द्र श्रेष्ठले महोत्सव १७ दिनसम्म चल्ने बताए। स्थानीय स्तरमा उत्पादित बस्तुको प्रवर्द्धनका लागि महोत्सव संचालन गरिएको उनले बताए।  

उनका अनुसार महोत्सवमा विभिन्न ब्यापार प्रयोजनका लागि १ सय ४१ वटा स्टल राखिएको छ । गत वर्ष महोत्सव स्थलमा आगलागी भएर बिक्रिका लागि राखेका सामग्री जलेपछि यसपाली सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully