तिलाकर्णाली क्याम्पस आउजाउ गर्न पैदलमार्ग

सदरमुकाम मान्म बजारबाट भीरको बाटो पैदल जाने क्रममा विद्यार्थी लड्ने जोखिम कम गर्न रेलिङसहितको पैदलमार्ग निर्माण थालिएको हो।

पुस २४, २०८२

तुलाराम पाण्डे

Walking path to and from Tilakarnali Campus

What you should know

कालीकोट — भीरको बाटो विद्यार्थीले जोखिमपूर्ण यात्रा गर्नु परेपछि जिल्लाको खाँडाचक्र–३ ताडीस्थित तिलाकर्णाली बहुमुखी क्याम्पस आउजाउका लागि पैदलमार्ग निर्माण सुरु गरिएको छ।

विद्यार्थीलाई क्याम्पससम्म आउजाउ गर्न समस्या भएपछि मार्ग निर्माण गरिएको हो। गत मंसिर ८ गते शिलान्यास गरिएको मार्ग फागुनसम्म निर्माण गरिसक्ने निर्माण समितिका अध्यक्ष खगेन्द्र पाण्डेले बताए। 

अहिले पैदलमार्गमा चौडा बनाउने, ढुंगा बिछ्याउने कामसँगै कर्णाली राजमार्गको छेउबाट सिढी निर्माण भइरहेको उनले बताए। क्याम्पस हुँदै पर्यटकीय स्थल पूजा मालिका जोड्ने बाटोलाई जेसिस पर्यटन पदमार्ग नामकरण गरिएको छ।

सदरमुकाम मान्म बजारबाट भीरको बाटो पैदल जाने क्रममा विद्यार्थी लड्ने जोखिम कम गर्न  रेलिङसहितको पैदलमार्ग निर्माण थालिएको हो। मार्ग निर्माणका लागि कर्णाली प्रदेश उद्योग, पर्यटन र वातावरण मन्त्रालयले बजेट विनियोजन गरेको छ। 

विद्यार्थीले भीरको बाटो जोखिमपूर्ण यात्रा गर्नु परिरहेकाले रेलिङसहित ढलान गरेर पदमार्ग निर्माण भइरहेको क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटाले बताए। ‘क्याम्पस संचालन भएको २० वर्षपछि बल्ल सुरक्षित बाटोमा हिँड्न पाइने भयो,’ उनले भने, ‘अब आउजाउ गर्न सजिलो हुनेछ ।’

उनका अनुसार क्याम्पसबाट फर्किने क्रममा यसअघि लडेर २ जना विद्यार्थीको खुट्टा भाँचिएको थियो। स्नातक तहदेखि स्नाकोत्तरसम्म शिक्षा र व्यवस्थापन संकाय पठनपाठ्न हुने क्याम्पसमा ५ सय बढी विद्यार्थी छन्। 
घुमाउरो बाटो आउजाउ गर्दा बढी समय लाग्ने भएकाले ३ किमि छोटो पैदलमार्ग निर्माण गर्न थालिएको स्ववियू सभापति हिक्मत सिंहले बताए।

चौथादेखि क्याम्पससम्म २ दशमलव ३ किलोमिटर पैदलमार्ग निर्माण गर्न १४ लाख ५५ हजार डिभिजन वन कार्यालयले वेहोर्ने छ भने ३ लाख ८२ हजार ३ सय ५ रुपैयाँ बराबर जनसहभागिता हुने गरी निर्माण सम्झौता गरिएको डिभिजन वन प्रमुख धर्मराज उपाध्यायले बताए। उनका अनुसार क्याम्पस जाने पैदलमार्गमा ढुंगा सोलिङ गरेर ढलान, मेसिनरी वाल र बाटो तल्लो भागको भीरतिर फलामे रेलिङनिर्माण हुनेछ । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully