कर्माचार्यले यसअघिको आफ्नै रेकर्ड तोड्दै १८५ औं पटक रक्तदान गरेका हुन् । उनले गत असोजमा रसुवाको कालिका गाउँपालिकामा १८४ औं पटकको रक्तदान गरेका थिए ।
जाजरकोट — नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बिहीबार जाजरकोट जिल्ला अस्पताल पुगेर १८५औं पटक रक्तदान गरेका छन् ।
कर्माचार्यले यसअघिको आफ्नै रेकर्ड तोड्दै १८५ औं पटक रक्तदान गरेका हुन् । उनले गत असोजमा रसुवाको कालिका गाउँपालिकामा १८४ औं पटकको रक्तदान गरेका थिए ।
रक्तदानपछि कर्माचार्यले दानमा प्राप्त रगत बिरामीहरूलाई निःशुल्क प्रदान गर्न सरकारलाई आग्रह गरे ।
यस्तै जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताए । उनले अहिलेको समयमा जनचेतनाको कमीका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गरे ।
यस्तै भेरी नगरपालिकाका ३ नम्बर वडाका अध्यक्ष लिलाबहादुर शाहले जाजरकोट जिल्लामा रक्तसंचार केन्द्र स्थापना गर्नका लागि १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट जिल्ला शाखाका अध्यक्ष प्रेमबहादुर ओलीले जाजरकोटमा रक्तसंचार केन्द्र स्थापना गर्न विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जानकारी दिएका छन् ।
