राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा नेकपाविरुद्ध कांग्रेस-एमाले गठबन्धनको पल्ला भारी

कर्णालीमा कांग्रेस–एमाले गठबन्धनको ३ हजार ९२ र नेकपाका १ हजार ९ सय ३९ मतभार छ ।

पुस २४, २०८२

कृष्णप्रसाद गौतम

National Assembly Election: Congress-UML alliance has a strong lead against NCP in Karnali

What you should know

सुर्खेत — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णालीमा कांग्रेस र एमालेको गठबन्धन र नेकपाबीच प्रतिस्पर्धा हुने भएको छ । कर्णालीमा दुई सदस्यका लागि प्रतिस्पर्धा हुन लागेको हो । 

गठबन्धनबाट कांग्रेस प्रदेश सभापति ललितजंग शाही र एमालेकी मिनासिंह रखालले उम्मेदवारी दिएका छन् भने नेकपाबाट बुद्धिप्रसाद शर्मा र अञ्जु महतरा (शाही) को मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

शाहीले अन्य कलस्टरबाट र रखालले महिला क्लस्टरतर्फ उम्मेदवारी दर्ता गराएका छन् । शाही २०७० सालको प्रदेशसभा निर्वाचनमा जुम्ला १ (क) कांग्रेसकै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । त्यस्तै दैलेखकी रखाल २०७४ सालमा समानुपातिकबाट कर्णाली प्रदेशसभा सदस्य थिइन् । पूर्व माओवादीका शर्मा रुकुम पश्चिमका हुन् भने साविक एकीकृत समाजवादीकी महतरा डोल्पाबाट प्रतिनिधित्व गर्छिन् । उनीहरु दुवैजना पहिलोपल्ट निर्वाचनमा भाग लिन थालेका हुन् । 

कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि १ सय ९८ मतदाता छन् । कर्णाली प्रदेशसभाका ४० सदस्य र ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १ सय ५८ जना जनप्रतिनिधिले मतदानमा भाग लिने निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए ।

प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतको भार १९ छ ।  जसअनुसार प्रदेशसभा सदस्यको २ हजार १ सय २० र स्थानीय तहको ३ हजार २ गरी ५ हजार १ सय २२ मतभार छ । उक्त मतभारमध्ये कांग्रेस–एमाले गठबन्धनको ३ हजार ९२ र नेकपाका १ हजार ९ सय ३९ मतभार हुन्छ । 

कर्णाली प्रदेशसभामा कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र राप्रपाका १ सांसद छन् । कर्णालीभरि कांग्रेसबाट निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या ५८ छ । जसअनुसार १५ प्रदेशसभा सदस्यको ७ सय ९५ र १ हजार १ सय २ गरी १ हजार ८ सय ९७ छ । एमालेबाट गत स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी ३५ जना निर्वाचित छन् । उनीहरूको मतभार ६ सय ६५ तथा १० प्रदेशसभा सदस्यको ५ सय ३० गरी १ हजार १ सय ९५ छ । 

त्यस्तै प्रदेशभरि नेकपाका ६३ जनप्रतिनिधि छन् । जसको मतभार १ हजार १ सय ९७ र प्रदेश सांसदहरुको ७ सय ४२ गरी १ हजार ९ सय ३९ छ । एक राप्रपा सांसदको ५३ र स्वतन्त्र निर्वाचित दुई स्थानीय तहका पदाधिकारीको ३८ मत तटस्थ छ ।

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully