परम्परागत कर्मचारीतन्त्र र कानुनी झन्झटले अपेक्षाकृत विकास सम्भव छैन : मुख्यमन्त्री कँडेल

मुख्यमन्त्री कँडेलले भने, ‘मन मिले सबै कानुनसम्मत हुन्छ, मन फाटे सबै कानुनविपरीत हुन्छ ।’

पुस २४, २०८२

ज्योति कटुवाल

Expected development is not possible due to traditional bureaucracy and legal hassles: Chief Minister Kandel

What you should know

सुर्खेत — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र र कानुनी झन्झटिलो कानुनी संरचना रहिरहेसम्म नागरिकले अपेक्षाकृत विकास निर्माण नहुने बताएका छन् । 

राष्ट्रिय सतर्कता केन्द्रद्वारा वीरेन्द्रनगरमा आयोजित भ्रष्टाचारविरुद्ध प्राविधिक परीक्षण अन्तरनिकाय समन्वय गोष्ठीमै मुख्यमन्त्री कँडेलले कर्मचारी प्रशासन, कानुनी जटिलता र कार्यशैलीकै कारण विकासमा ढिलासुस्ती हुने बताए । सुशासन र ढिलासुस्तीका विषयमा प्रश्न उठाउँदै उनले भने, ‘तपाईंहरू स्थायी कर्मचारी हुनुहुन्छ, तपाईंहरूमाथि प्रश्न कम उठ्छ, कर्मचारीको संलग्नताबिना रकम कसरी तलमाथि हुन्छ । तपाईंहरूको हस्ताक्षरबिना कुनै पनि कामकारबाही अघि बढ्दैन ।’

कर्मचारीहरू दबाब, प्रभाव वा प्रलोभनमा परेर निर्णय गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने उनको भनाइ छ । ‘सुधारको काममा तपाईंहरू अघि बढ्नुभयो भने हामी पूर्णरुपमा सहयोग गर्नेछौं,’ उनले भने । 

‘कानुनले गर्नु हुँदैन’ भन्ने व्यवस्था गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गर्दै उनले भने, 'देखाउनलाई हामी प्रमुख हौं, व्यवहारमा भने हामी अनुरोध गर्ने ठाउँमा रहेछौं । भ्रष्टाचार रकम कलममै सीमित छ । ढिलासुस्ती, गैरजिम्मेवारी र काम नगर्ने प्रवृत्तिले पनि भ्रष्टाचारकै रूप लिन्छ ।'

राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई छुट्याएर कारबाही गर्नुपर्नेमा उनको जोड थियो । 'तर्साएर मात्रै भ्रष्टाचार नियन्त्रण हुन सक्दैन । देशकै सबैभन्दा बढी राजस्व उठाउने मालपोत कार्यालय पानी चुहिने घरमा सञ्चालन गर्नुपर्छ, तर अनुगमन गर्ने निकाय चिटिक्कका भवनमा बस्ने मानसिकताले कहाँ पुर्‍याउँछ ?,' दिँदै मुख्यमन्त्री कँडेलले भने, ‘मन मिले सबै कानुनसम्मत हुन्छ, मन फाटे सबै कानुनविपरीत हुन्छ ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully