समुदायमा राउटे परियोजनामार्फत काम गर्दै आएको सोसेक नेपालको आर्थिक सहयोगमा १५ जना राउटे युवाहरुलाई तीन दिने तालिम दिन सुरु गरिएको हो ।
सुर्खेत — सुर्खेतको लेकबेंसी नगरपालिकाको लमनामा बसाइँ सरेका राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारको आधारभूत सीप सिकाउन थालिएको छ ।
समुदायमा राउटे परियोजनामार्फत काम गर्दै आएको सोसेक नेपालको आर्थिक सहयोगमा १५ जना राउटे युवाहरुलाई तीन दिने तालिम दिन सुरु गरिएको हो । तालिममा रेडक्रस शाखा सुर्खेतका स्वास्थ्यकर्मीहरुले प्रयोगात्मक अभ्यासमार्फत गराउने छन् । तालिमपछि समुदायमा आकस्मिक उपचार गर्न राउटे युवाहरु सक्षम हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय राउटेहरु चिकित्सा उपचार विधिमा बढी ध्यान दिन थालेका छन् । सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिं थापाले परम्परागत घरेलु उपचारभन्दा पनि राउटेहरु आधुनिक उपचारमा बढी चासो दिन थालेको बताए । उनीहरुले राउटे समुदायको जनसंख्या एक सय ३३ छ । कर्णाली प्रदेशको पहिचान रुपमा चिनिने राउटे समुदायलाई संरक्षण गर्नु सबैको दायित्व रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । उनले छिट्टै राउटे नीति सार्वजनिक गर्ने बताए ।
यस्तै राउटे समूदायको पहिचान यथावत राखेर आधुनिकरणतर्फ लैजाने प्रयास गरिरहेको दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले बताए । राउटेहरुलाई गुराँस गाउँपालिकाबाटै नागरिकता दिने प्रयास भइरहेको बताए ।
